Kathmandu Press

महामन्त्री शर्माको राजनीतिक प्रस्ताव– गठबन्धनबाट उपलब्धिसँगै असन्तुष्टि र चुनौती पनि

‘तीनवटै तहमा कांग्रेसको पहिलो स्थान जनताको विश्वास, पार्टी पङ्क्तिको मेहनत र गठबन्धनका सहयात्रीहरूको जोडबलले थियो भन्ने तथ्य हामीले बिर्सन मिल्दैन।’
महामन्त्री शर्माको राजनीतिक प्रस्ताव– गठबन्धनबाट उपलब्धिसँगै असन्तुष्टि र चुनौती पनि

काठमाडौं, फागुन ४ : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जारी केन्द्रीय समिति बैठकमा ‘राजनीतिक प्रस्ताव’ पेस गर्दै नेपाली कांग्रेसले गठबन्धन गर्दा उपलब्धि भए पनि असन्तुष्टि र चुनौती समेत बढेको बताएका हुन्। 

महामन्त्री शर्माले पेश गरेका प्रतिवेदनमा भनिएको छ, ‘पृष्ठभूमि र वैचारिक धार हाम्रो भिन्न थियो र छ, त्यसैले चुनावमा ‘प्री पोल एलायन्स’ हुनु सही या गलत भन्ने दुई थरी मतबिच हामी गठबन्धन गरेरै जाने संस्थागत निर्णयमा पुगेका थियौँ’, शर्माले भनेका छन्, ‘त्यसबाट उपलब्धि हासिल भएको छ भने असन्तुष्टि र चुनौती पनि बढेका छन्।’

Hardik ivf

कांग्रेसले ०७४ को निर्वाचनको तुलनामा नेपाली कांग्रेस पछिल्लो निर्वाचनमा तीन वटै तहमा पहिलो दलका रूपमा स्थापित हुनु गठबन्धनको महत्वपूर्ण योगदान रहेको समेत प्रश्तावमा उल्लेख छ। ‘तीनवटै तहमा कांग्रेसको पहिलो स्थान जनताको विश्वास, पार्टी पङ्क्तिको मेहनत र गठबन्धनका सहयात्रीहरूको जोडबलले थियो भन्ने तथ्य हामीले बिर्सन मिल्दैन’, शर्माले भनेका छन्।

यस्तै कांग्रेसका परम्परागत मतदाताले अन्य चिन्हमा मत दिन पार्टीले गरेको आग्रह नरुचाएको पनि जनाइएको छ। समानुपातिकतर्फ ०७४ को तुलनामा करिब ७ प्रतिशत मत गुमाउनुको वास्तविक कारण खोज्नुपर्ने प्रश्तावमा उल्लेख छ। 

यस्तै गठबन्धनबारे अहिले बोल्ने समय नभएको निष्कर्ष प्रश्तावमा छ। ‘गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुनुहुन्न’, शर्माले भनेका छन्, ‘पार्टीले गहन छलफलबाट परिपक्व निर्णय लिनुपर्ने हुन्छ।’

२०७९ को निर्वाचनपछि पुस १० गते अनपेक्षित रूपमा भत्किएको गठबन्धन राष्ट्रपति निर्वाचनमा पुग्दै गर्दा पुन ‘ट्रयाक’ मा फर्किएको प्रश्तावमा उल्लेख गरेका छन्। कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले असन्तोष प्रकट गरेको स्थितिलाई गम्भीर समीक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी रहेको समेत बताइएको छ।

‘गठबन्धनको सरकार पाँच वर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन खुला छलफल र आपसी विश्वासले मात्र त्यो सम्भव हुने तथ्य भुल्न मिल्दैन’, प्रस्तावमा उल्लेख छ। 
 

प्रकाशित मिति: १३:०८ बजे, शुक्रबार, फागुन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्