दिल्लीमा ५० जनाभन्दा बढी भेला हुन रोक, होटलमा क्वारेन्टाइन
काठमाडौं, चैत ३ : कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि भारतको राजधानी दिल्लीमा पनि सभा, समारोह, सम्मेलनमा कडाइ गर्न थालिएको छ। अब ५० जनाभन्दा बढी भेला....

काठमाडौं, चैत ३ : कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि भारतको राजधानी दिल्लीमा पनि सभा, समारोह, सम्मेलनमा कडाइ गर्न थालिएको छ। अब ५० जनाभन्दा बढी भेला हुन नपाइने भएको छ।
सोमबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलन गरि कोरोना भाइरस संक्रमण रोक्न विशेष कदम चालिएको बताएका छन्। उनले ५० जनाभन्दा भेला हुन नपाइने व्यवस्था गरिएको जनाएका छन्।
कुनै पनि सभा, समारोह, प्रदर्शन तथा बिहेमा समेत यो लागू हुने भएको छ। बिहेमा रोक नलगाएको भएपनि ५० जनाभन्दा बढी भेला भएमा भने कारबाही गरिने भएको छ।
दिल्ली सरकारले स्कुल, कलेज, विश्वविद्यालय यस अघि नै बन्द गरेको छ। त्यस्तै, नाइट क्लब, जिम, स्पा सेन्टर, स्विमिङ पुल पनि बन्द गरेको छ। एक जनाबाट अर्कोमा संक्रमण नफैलिन दिन कडाइ गर्नु परेको मुख्यमन्त्री केजरीवालले बताए।
दिल्लीमा सात जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ६८ वर्षीया बृद्धाको मृत्यु भएको छ।
केजरीवाल सरकारले पूर्वतयारी पनि गरेको जनाएको छ। सार्वजनिक स्थानमा ह्यान्ड वासमेसिन राखेको छ। जहाँ सर्वसाधारणले जतिवेला पनि हात धुन पाउनेछन्। त्यस्तै, सेक्युरिटी गार्ड भएका भवनमा पनि ह्यान्ड वास मेसिन राखिएको छ। त्यहाँबाट आउने र जानेवेला स्यानिटाइजरको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, सार्वजनिक यातायातमा थर्मल स्क्रिनिङ सुरू गरिएको छ। हरेक यात्रुलाई मेट्रोमा चढ्दा तापक्रम नाप्न थालिएको छ।
यससँगै शंकास्पद व्यक्तिलाई राख्न क्वारेन्टाइनको व्यवस्था गरिएको छ। तीन वटा होटल लेमन ट्रि, रेड फक्स र आईबीआईएसमा क्वारेन्टाइनको व्यवस्था गरिएको मुख्यमन्त्री केजरीवालले बताए।
अस्पतालमा पनि उपचारको व्यवस्था गरेको जनाएको छ। प्रत्येक अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको उनले बताए।
‘कोरोना भाइरसबाट त्रसित हुनुपर्ने अवस्था छैन, हामीले सबै सुरक्षाको व्यवस्था गरेका छौं,’ मुख्यमन्त्री केजरीवालले भनेका छन्, ‘तैपनि आफू र अरुलाई संक्रमणबाट जोगाउन सतर्कता अपनाउन सबैलाई अनुरोध गर्दछु।’











