Kathmandu Press

विश्व सामाजिक मञ्चको १६औं सम्मेलन सुरु

विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चारदिनसम्म सञ्चालन हुने सम्मेलन आजदेखि सुरु भएको हो। नेपालमा पहिलोपटक यस प्रकारको सम्मेलन भएको हो।
विश्व सामाजिक मञ्चको १६औं सम्मेलन सुरु

काठमाडौं, फागुन ३ : विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ। विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चारदिनसम्म सञ्चालन हुने सम्मेलन आजदेखि सुरु भएको हो। नेपालमा पहिलोपटक यस प्रकारको सम्मेलन भएको हो।

‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा आज सम्मेलनस्थल भुकुटीमण्डपबाट रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म पदयात्रा (मार्चपास) भएको छ। पदयात्रामा न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत सामग्री समेटिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो। पदयात्रालाई विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धता जनाएका छन्।

Hardik ivf

सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने आयोजकले जनाएको छ। हालसम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासङ्घ एसिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानवअधिकारकर्मी तथा नर्मदा बचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरालगायत अथिति वक्ताको सहभागिता निश्चित भएको नेपाल आयोजक समितिका सदस्य डा नेत्र तिमिल्सिनाले जानकारी दिए।

सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूल विधामा आधारित चार सय कार्यक्रम दर्ता भएका भन्दै विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुने उनले बताए। 

सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुनेछ।

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्