स्की खेल्न जाने हो ? कालिञ्चोकमा नेपालकै पहिलो स्की रिसोर्ट बन्ने
हिमालै हिमालले ढाकिएको देश देश नेपालको हिम–पर्वत डुल्दा बरु मिथकीय जनावर यती भेटिएलान्, स्की खेलाडी चाहिँ भेटिँदैनन् !
नेपालमा संसारकै सर्वोच्च श....
हिमालै हिमालले ढाकिएको देश देश नेपालको हिम–पर्वत डुल्दा बरु मिथकीय जनावर यती भेटिएलान्, स्की खेलाडी चाहिँ भेटिँदैनन् !
नेपालमा संसारकै सर्वोच्च शिखर सगरमाथामात्रै छैन, विश्वकै १० मध्ये ८ उच्च हिमाल पनि छन् । तर, यति धेरै हिमाल भएको देशमा स्की खेल भने खासै हुँदैन ।
तर, केही नेपाली युवाहरू अहिले आफ्नो देशमा पनि स्की खेल प्रवर्द्धन गर्न जुटेका छन् । स्की एण्ड स्नोबोर्डिङ फाउण्डेशन नेपालका सदस्यहरू अहिले दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा पर्ने कुरीमा देशकै पहिलो स्की रिसोर्ट बनाउने प्रयासमा जुटेका छन् ।
‘काठमाडौंवासीहरू सोच्छन् – स्की खेल्ने ठाउँ पुग्न धेरै दिन लाग्छ र पैसा पनि निकै खर्च हुन्छ, तर कुरीमा स्की गर्न धेरै पैसा र समय लाग्दैन’
फाउण्डेशनका अध्यक्ष उत्सव पाठक, २४, भन्छन्, ‘अहिलेलाई हामीसँग एउटा स्लोप मात्रै छ, तर हामी स्की रिसोर्ट नै बनाउन चाहन्छौँ ।’
कालिञ्चोक नजिकै स्की रिसोर्ट बनाउन यूरोपबाट गण्डोला र स्नो मेशिन ल्याउने योजना पनि पाठक सुनाउँछन् ।
फाउण्डेशनले हालै कुरी गाउँमा नेपालकै पहिलो स्की लिफ्ट बनाएको छ । तर, स्थानीय स्तरमै निर्मित कन्ट्रयाप्सन, चक्का र जेनरेटर प्रयोग गरी बनाइएको स्की लिफ्ट जाडोले जाम भएर त्यसै थन्की बसेको छ ।
पाठक र उनका साथीहरू स्की खेलप्रति नेपालीको अभिरुचि वृद्धि गर्ने, नेपालमा स्की प्रेमी पर्यटकहरू आकर्षित गर्ने र नेपालको पयर्टन व्यवसायमा नयाँ आयाम थप्ने योजनामा छन् ।
फाउण्डेशनले विगत तीन वर्षमा झण्डै एक हजार नेपालीलाई स्की खेलको स्वाद चखाइसकेको दाबी गरेको छ । फाउण्डेशनले यसै महिनामा दोस्रो राष्ट्रिय स्की तथा स्नोबोर्ड च्याम्पियनशीपको आयोजना पनि गरेको थियो ।
फाउण्डेशनले स्की रिसोर्टका लागि छानेको ठाउँ कुरी काठमाडौंबाट एक दिनमै पुग्न सकिन्छ । ‘काठमाडौंवासीहरू सोच्छन् – स्की खेल्ने ठाउँ पुग्न धेरै दिन लाग्छ र पैसा पनि निकै खर्च हुन्छ,’ कालिञ्चोकका होटल व्यवसायी विजय श्रेष्ठ भन्छन्, ‘तर, उनीहरूलाई कुरीमा स्की गर्न धेरै पैसा र समय लाग्दैन ।’
कुरी अहिले नै एक आकर्षक पर्यटकीय गन्तव्य भइसकेको छ । कुरीबाट अलि माथि रहेको कालिञ्चोक भगवतीको मन्दिरमा पूजा गर्नेहरूको हरेक शनिबार घुइँचो लागेको हुन्छ । तीन महिनाअघि मात्रै कुरीबाट कालिञ्चोक भगवती मन्दिर पुग्ने केबल कार पनि सञ्चालनमा आएको थियो । केबल कार बनेपछि कालिञ्चोक आउने तीर्थालु र पर्यटकको संख्या बढेको छ ।
दुई साताअघि कालिञ्चोक हिउँले ढाकिएर भू–स्वर्ग जस्तो देखिएको थियो । यहाँ हिउँ खेल्न काठमाडौंबाट धेरै मानिस आएका थिए । त्यही हिउँमा परेर स्की एण्ड स्नोबोर्डिङ फाउण्डेशनले बनाएको स्की लिफ्ट बिग्रियो । तर, त्यसलाई छिट्टै मर्मत गरी फेरि सञ्चालन गर्न तयारी फाउण्डेशनको छ ।