नागरिकको गुनासो बढ्यो : महामन्त्री थापा
‘सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुंगिसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ,’ उनले भने।---frame-at-1m43s-1707553712.jpg)
चितवन, फागुन २ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन्।
चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताए।
‘सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुंगिसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ,’ उनले भने।
आम नागरिकका साना–साना मागसमेत पूरा हुन नसकेको जनगुनासो आफूले पाएको उनले बताए। उनले भने, ‘जुन कुरा सरकारले गर्न सक्ने कुरा छन्। सामान्य हिसाबले गर्न सकिने कुरा पनि नगरेको देख्दा त्यसबाट नैराश्यता सिर्जना भएको छ।’
स्रोत साधनको अभावले गर्दा गर्न नसकेको ठूला कुरा स्वाभाविक भएको भन्दै उनले अहिले सबै खालको अनुकूलता भएको समयमा गर्न सकिने काम पनि नभएकामा नागरिकले गुनासो गरेको उनले सुनाए।
पूर्वाधार बनिसकेपछि लाभ लिने कुरामा हामी सबै चुकेको अनुभूति भएको उनको भनाइ थियो। देशभरका महासमिति सदस्य केही अनुभव वोकेर काठमाडौं आउँदा महासमितिको बैठकमा यी विषयमा छलफल हुने महामन्त्री थापाले बताए।
निर्वाचन पछि गठवन्धन गर्दा राम्रो हुने भन्दै उनले निर्वाचन अघिको गठबन्धन उपयुक्त नहुने देखिएको टिप्पणी गरे।












