भरतपुरमा मौसमी ‘फ्लू’का बिरामी बढे
अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. प्रमोद पौडेलका अनुसार मौसममा आएको परिवर्तनसँगै भाइरसका कारण लाग्ने इन्फ्लूएन्जाका बिरामीको संख्या बढेको हो।चितवन, फागुन २ : विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या २० प्रतिशतले बढेको छ। मौसमी ‘फ्लू’का कारण बिरामीको संख्या बढ्दै गएको हो।
अस्पतालका चिकित्सकका अनुसार पछिल्लो समय बहिरंग विभागमा रुघा, खोकी, ज्वरो भएर आउने बिरामीको संख्या बढ्दै गएको हो।
अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. प्रमोद पौडेलका अनुसार मौसममा आएको परिवर्तनसँगै भाइरसका कारण लाग्ने इन्फ्लूएन्जाका बिरामीको संख्या बढेको हो। अहिले दैनिक तीनदेखि चार सय हाराहारी बिरामीलाई हेर्दा त्यसको २० प्रतिशतमा भाइरलको समस्या देखिएको हो।
विगत महिनाको तुलनामा अहिले फ्लूका बिरामीको सङ्ख्या बढिरहेको उनले बताए। फ्लू लागेका बिरामीमा रुघा लाग्ने, टाउको दुख्ने, शरिर दुख्ने खोकी लाग्ने लगायतका लक्ष्यण देखिने गरेको उनले बताए।
मानव शरीरमा इन्फ्लूएन्जा ‘ए’ र ‘बी’ हुने गरेको भन्दै उनले अहिले अत्यधिक मात्रामा इन्फ्लूएन्जा ए बढी देखिएको बताए। यो भाइसरका कारण हुने भएकाले आराम गर्ने, पानी धेरै खाने, सामान्य सिटामोलको प्रयोग गर्नुपर्ने उनको भनाइ छ।
पाँच वर्षभन्दा मुनिका बच्चा र ६० वर्षभन्दामाथिका वृद्धवृद्धामा बढी यो समस्या देखिने उनले जानकारी दिए।