हचुवाका भरमा कर्मचारी नहटाउन तीनै तहका सरकारलाई केन्द्रको निर्देशन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उक्त निर्देशन दिइएको हो। कानुनी व्यवस्था र स्वीकृत बजेटको अधीनमा रही संघ, प्रदेश र स्थानीय गरी तीनै तहका आयोग, मन्त्रालय, विभाग तथा कार्यालयहरुमा सेवा करारमा कर्मचारीहरु रहेको केन्द्रले जनाएको छ।
काठमाडौं, फागुन १ : करार तथा अस्थायी कर्मचारी धमाधम हटाउन थालेपछि राष्ट्रिय सतर्कता केन्द्रले हचुवाका भरमा नहटाउन तीनै तहका सरकारलाई मंगलबार निर्देशन दिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उक्त निर्देशन दिइएको हो। कानुनी व्यवस्था र स्वीकृत बजेटको अधीनमा रही संघ, प्रदेश र स्थानीय गरी तीनै तहका आयोग, मन्त्रालय, विभाग तथा कार्यालयहरुमा सेवा करारमा कर्मचारीहरु रहेको केन्द्रले जनाएको छ।
सार्वजनिक निकायमा नेतृत्व परिवर्तन हुँदा वा नहुँदा समेत व्यक्तिगत पूर्वाग्रह या हचुवाका भरमा सेवा करार/अस्थायी सेवामा कार्यरत कर्मचारीहरुलाई हटाउने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने आवश्यकता देखिएको निर्देशनमा जनाइएको छ। केन्द्रले राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ७ (३) बमोजिम प्रधानमन्त्रीस्तरबाट भएको निर्णय कार्यान्वयन गर्न तीनै तहका सरकारलाई निर्देशनमा भनिएको छ।
‘प्रचलित कानुनमा व्यवस्था भएमा बाहेक व्यक्तिगत पूर्वाग्रह राखी हचुवाको भरमा कुनै पनि करार ÷ अस्थायी कर्मचारीलाई सेवाबाट हटाउने कार्य नगर्न/नगराउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका कार्यालयहरुलाई लेखी पठाउन राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ७ (३) बमोजिम त्यहाँ मन्त्रालयलाई निर्देशन दिने भनी मिति २०८०/१०/२९ को निर्णय (सम्माननीय प्रधानमन्त्रीस्तर ) भएकोले सोही बमोजिम कार्यान्वयनको लागि अनुरोध छ’, निर्देशनमा उल्लेख छ।