जनयुद्धबाट भएको परिवर्तनमाथि षडयन्त्र भइरहेछ, परिवर्तनका पक्षधर एकताबद्ध हुनुपर्छ : प्रचण्ड
जनयुद्धकै कारण मुलुकमा ठुलो परिवर्तन भएको बताउँदै उनले परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरूलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको बताए।
काठमाडाैं, फागुन १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन्।
मंगलबार काठमाडौंमा जनयुद्ध दिवस र पार्टीको विधान सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले जनयुद्धका कारण भएको परिवर्तनमाथि षडयन्त्र भइरहेको भन्दै जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरहरु एकताबद्ध हुनुपर्ने बताएका हुन्।
जनयुद्धकै कारण मुलुकमा ठुलो परिवर्तन भएको बताउँदै उनले परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरूलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको बताए। उनले यसअघि भएका कर्मी कमजोरीको समीक्षा गरि माओवादी मोर्चालाई एकताबद्ध गर्न ढिलाइ गर्न नहुने जिकिर गरे।
जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने उनले बताए। अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे।
त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतले त्यसलाई उल्टाएको र अदालतको आदेशलाई स्वीकार गरेको बताए। उनले सरकारीस्तरमा दिवस मनाउन नपाए पनि देश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको भन्दै भविष्यमा सरकारी तवरबाटै जनयुद्ध दिवस मनाउने अवस्था आउन सक्ने जिकिर गरे।
शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने उनले बताए। समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहेको छ।
पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादीले जनाएको छ। पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो। समितिले यसअघि नै पार्टी अध्यक्ष प्रचण्डलाई विधानको मस्यौदा बुझाएको थियो।












