प्रचण्डकाे निष्कर्ष : कांग्रेससँगको गठबन्धन लाभदायक बन्न सकेको छैन
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले उनले कोशीमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रम हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताएको स्रोतको भनाइ छ।
काठमाडौं, माघ २९ : प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको बताएका छन्। माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले उनले कोशीमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रम हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताएको स्रोतको भनाइ छ।
‘‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले एउटा आवश्यकता त हो तर पार्टीको समग्र विकासको दृष्टिले त्यो लाभदायक भएको देखिएन,’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। तर गम्भीर समीक्षाको विषय भए पनि अर्को गठबन्धन बनाउने आधार भने तयार भइनसकेको उनले बताए। स्रोतका अनुसार अहिले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पर्ने अवस्थासहित विभिन्न परिस्थितिले नयाँ गठबन्धन बनाउने अवस्थामा नपुगेको उनको भनाइ थियो ।
दाहालले कांग्रेस आफूहरूकै मतका आधारमा पहिलो पार्टी बनेको समेत बताए। ‘हामीले इमानदारीपूर्वक कांग्रेसलाई पहिलो पार्टी बनायौं,’ उनले भने, ‘तर हामीलाई पटकपटक धक्का मिलेको छ।’ राजकीय पद भागबन्डामा पनि माओवादी केन्द्रलाई घाटा भएको उनको भनाइ थियो।












