कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
फागुन ७ देखि १० गतेसम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको जनाइएको छ।
काठमाडौं, माघ २८ : नेपाली कांग्रेसले फागुन ३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा वैठक बस्ने गरी बैठक फागुन ३ गते दिउँसो १ बजे का लागि बैठक तय भएको हो। फागुन ७ देखि १० गतेसम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको जनाइएको छ।
कांग्रेसले महासमिति बैठकका सम्बन्धमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध समेत गरेको छ।
१४औं महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्नेगरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको छ । हाल देशभरबाट ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेल बताए।
महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुनेगरी दुई हजार तीनभन्दा बढी महासमिति सदस्यले भाग लिनेछन्।












