एक वर्षमा ७० हजार नेपाली स्थायी बसोबासका लागि विदेश पलायन
समितिमा आइतबार भएको छलफलमा विभागका महानिर्देशक रुद्रसिंह तामाङलेले पेश गरेको तथ्याङ्क अनुसार सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार नौ सय १५ जना रहेको उल्लेख छ।
काठमाडौं, माघ २८ : अध्यागमन विभागले नेपालबाट एक वर्षमा ७० हजार भन्दा बढी नेपाली विदेशमा स्थायी बसोबासको लागि गएको तथ्याङ्क राज्य व्यवस्था तथा सुशासन समितिमा पेश गरेको छ।
समितिमा आइतबार भएको छलफलमा विभागका महानिर्देशक रुद्रसिंह तामाङलेले पेश गरेको तथ्याङ्क अनुसार सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार नौ सय १५ जना रहेको उल्लेख छ। एक वर्षको अवधिमा विदेश गएकामध्ये तीन लाख ४० हजार तीन सय ६९ जना नेपाली विदेशमा नै बसेका छन्। सन् २०२३ मा १६ लाख तीन हजार आठ सय ३८ जना नेपाली नागरिक विदेश जाँदा १२ लाख ६३ हजार चार सय ६९ भित्रिएका छन्।
एक वर्षे अवधिमा अध्ययनको लागि एक लाख आठ हजार पाँच सय ४२ जना, अस्थायी बसोबास भिसामा ९२ हजार तीन सय ४९, स्थायी बसोबास भिसामा ७० हजार नौ सय १५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६ सय १३ जना नेपाली विदेश गएका छन्। पछिल्लो एक वर्षमा दुई लाख ९२ हजार दुई सय ४० नेपाली कुनै काम विशेषले विदेश बस्नेगरी गएका छन्। उक्त तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देश पुगेका नागरिकहरूको संख्या भने समावेश छैन।
समितिमा प्रश्तुत तथ्याङ्क अनुसार सन् २०२३ मा आठ लाख आठ हजार चार सय १५ नेपाली नागरिक श्रमिकको रूपमा विभिन्न देश गएका छन्। नेपालबाट विदेशमा बसेका छोरा छोरीकोमा नातासम्बन्ध भिसामा १ लाख ६७ हजार चार सय ८५ जना नेपाली विदेश पुगेका छन्। भ्रमण तथा धार्मिक प्रयोजनको लागि १ लाख चार हजार पाँच सय १५ नागरिक नेपालबाट विदेश गएका छन्। ८ लाख ८ हजार चार सय १५ नेपाली नागरिक श्रमिकको रूपमा विभिन्न देश पुगेका छन्।
सन् २०२३ मा विभिन्न कारणबाट चार सय ५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको तथ्याङ्क समेत समितिमा पेश गरिएको छ।












