आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ
पूर्वमन्त्रीसमेत रहेका आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामा छन्।
रौतहट, माघ २८ : कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ। त्यसका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा उनकाे पेसी तोकिएको छ।
पूर्वमन्त्रीसमेत रहेका आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामा छन्। २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फाेटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोग उनीमाथि छ।
आलममाथि २०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो । यो मुद्दाको थुनछेक बहसपछि उनी २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्।
उनीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि गत पुस २९ गते हुने भनेर दिन तोकिएकाे थियाे तर धेरैजसो न्यायाधीश बिदामा बसेको भन्दै सो दिन पेसीमा चढेन। गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेस गर्न आदेश दिइएको थियो।
सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो।
यो मुद्दामा आलमसहित ११ जना प्रतिवादी छन्। अभियोगपत्रमा आलमलाई ४५ वर्ष कैद सजाय मागदाबी गरिएको छ।












