Kathmandu Press

जतिसुकै ठुला व्यक्ति भए पनि भ्रष्टाचारीलाई कानुनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन उनले भ्रष्टाचार न्यूनिकरणका लागि सार्वजनिक निकायमा पारदर्शिता जरुरी रहेको उल्लेख गरे। 
जतिसुकै ठुला व्यक्ति भए पनि भ्रष्टाचारीलाई कानुनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति

काठमाडौं, माघ २८ : राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान बिन्दु भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन उनले भ्रष्टाचार न्यूनिकरणका लागि सार्वजनिक निकायमा पारदर्शिता जरुरी रहेको उल्लेख गरे। 

'शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ भ्रष्टाचार न्यूनीकरणको सम्भावना त्यति नै हुने भएकाले सार्वजनिक निकायका हरेक काम, कारबाही र निर्णय पारदर्शी हुनुपर्छ भन्ने कुरामा सबैको ध्यानाकर्षण गराउन चाहन्छु,' उनले भने, 'नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना पनि यही हो।'

भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्ने उgको भनाइ थियो। उनले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल भासिदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा चिन्ता पनि प्रकट गरे। राष्ट्रपति पौडेलले भने, 'भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्नेमात्र होइन राष्ट्रको नैतिक धरातल भासिदै जान्छ र यसले राष्ट्रियता नै कमजोर बन्न पुग्ने हुनजान्छ।'

Hardik ivf

विद्यमान कार्य संस्कृतिमा परिवर्तन पनि भ्रष्टाचार नियन्त्रण गर्ने एउटा प्रभावकारी पक्ष हुन सक्ने उनको सुझाव थियो। राष्ट्रपति पौडेलले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह पूर्वाग्रहरहित भएको सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए। 

जनमुखी विकासबाट नागरिकमा सकारात्मक सन्देश जाने र प्रशासनिक क्षेत्रलाई पनि सोहीअनुरुप चुस्त र दुरुस्तरुपले अघि बढ्न मद्दत मिल्ने बताए। प्रकृति मानिसका आवश्यकता पूरा गर्न सक्षम छ तर मानिसको लोभ पूरा गर्न सक्षम छैन भन्ने पूर्वीय दर्शनको मान्यतालाई अनुसरण गर्नु आजको आवश्यकता भएकोमा उनले जोड दिए।

राष्ट्रपति पौडेलले सुशासन लोकतन्त्रको प्राणवायु हो भन्दै मुलुकमा उपलब्ध प्राकृतिक, मानवीय र सांस्कृतिक सम्पदाहरूको उपयोग र सुदृढीकरण गर्दै आर्थिक समृद्धि तथा सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएकाे बताए।

'हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व, आयोगले तयार गरेको संस्थागत रणनीतिक योजना र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताअनुरुप हामी सबैले मुलुकको हित र कल्याण तथा अन्तर्राष्ट्रिय छविका लागि आफ्नो जीवनशैलीलाई सरल, इमान्दार, पारदर्शी र सदाचारयुक्त बनाउन आवश्यक छ,' उनले भने। 

राष्ट्रपति पौडेलले आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारका उपर अनुसन्धान छानबिन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र होइनन् बरु ठूला प्रकृति र कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भए पनि उनीहरूलाई कानुनको दायरामा ल्याउन पछि पर्न हुन्न भन्ने आम नागरिकको मत ध्यानमा राख्न सुझाव दिए। 
 
उनले मुलुकमा भ्रष्टाचारविरुद्ध जागरण आउनेछ  र विश्वस्तरीय भ्रष्टाचार सूचकाङ्कमा नेपालकोस्तरमा क्रमशः सुधार हुने विश्वास व्यक्त गरे। साथै, तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चारजगतलगायत प्रत्येक नागरिकलाई भ्रष्टाचारविरुद्धको अभियानमा सक्रियतापूर्वक सहभागी भई हातेमालो गर्नसमेत उनले आव्हान गरे।

'मुलुकको नीति र कानुन निर्माण, विकास व्यवस्थापन र नागरिकको आधारभूत सेवा प्रवाहमा संलग्न अख्तियार प्राप्त अधिकारीलाई प्रचलित नीति र कानुनबोजिम निर्धक्कसाथ विवकेशील निर्णय र कार्यसम्पादन गर्न अनुकूल वातावरणको सृजना गर्नुपर्ने चुनौतीसमेत यस आयोग तथा  सम्बन्धित निकायका सामु देखापरेको छ', राष्ट्रपति पौडेलले भने।

प्रकाशित मिति: १२:१८ बजे, आइतबार, माघ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्