Kathmandu Press

भरिया बनेर गाउँमा विद्यालय स्थापना गर्न सफल भोजपुरका सुवास

५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लागेका तामाङले आफ्नो जन्मभूमि षडानन्द नगरपालिका–९ बैदर भञ्याङमा विद्यालय स्थापना गरेका हुन्।
भरिया बनेर गाउँमा विद्यालय स्थापना गर्न सफल भोजपुरका सुवास

भोजपुर, माघ २७ : सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालयले स्थापना गरेका छन्। ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लागेका तामाङले आफ्नो जन्मभूमि षडानन्द नगरपालिका–९ बैदर भञ्याङमा विद्यालय स्थापना गरेका हुन्।

उनले २०४६ सालमा चित्राले बारेर विद्यालय सञ्चालन गरेका थिए। उनले लालीगुँरास प्राथमिक विद्यालय स्थापना गरेर कक्षा ५ सम्मको पढाई थाखेका थिए। त्यसपछि उनले विसं २०५१ मा चन्द्रसूर्य माध्यमिक विद्यालय स्थापना गरेर कक्षा ६ देखि १० सम्म सञ्चालन गरे। विसं २०६८ चैतदेखि दुई विद्यालयलाई गाभेर चन्द्र सूर्य माध्यमिक विद्यालय बनाइएको उनले जानकारी दिए। 

Hardik ivf

तत्कालीन समयमा विदेशी पर्यटकको भारी बोक्ने काम गर्ने तामाङले विदेशीबाट चन्दा सङ्कलन तथा आफूले भारी बोकेर कमाएको पैसाले यो स्थानमा दुई विद्यालय स्थापना गरेको बताए। त्यो समयमा यहाँका शिक्षकलाई उनले नै तलब दिए। विद्यालय स्थापना गरेको १८ वर्षसम्म आफैँले रकम सङ्कलन गरेर तलब खुवाएको उनको भनाइ छ। आफ्ना पिता लघुसिंह तामाङले देखेको सपनालाई पूरा गर्न धेरै दुःख र सङ्घर्षले विद्यालय स्थापना गर्न सफल भएको उनले बताए।

'मेरो पिताको यो स्थानमा विद्यालय स्थापना गर्ने सपना थियो', उनले भने, 'तर उहाँको देहावसान भयो, पिताको सपनालाई साकार पार्न यो काममा जुटे र स्थापना गर्न पनि सफल भएँ, भारी बोकेर ल्याएको पैसाले मैले सुरुमा चित्राले बारेर विद्यालय चलाएको थिए, भारी बोक्ने क्रममा विदेशीलाई मेरो योजना सुनाएँ, त्यसपछि उनीहरुले मलाई थप सहयोग पनि गरे।'

विद्यालयका लागि आफूले दुईपटक गरेर ७८ रोपनी जग्गा निःशुल्क दिएको तामाङले बताए। पछिल्लो समयमा दिएको सात रोपनी जग्गामा हालको चन्द्र सूर्य मावि सञ्चालन भइरहेको छ। बाँकी ७१ रोपनी जग्गा पनि विद्यालयले भोगचलन गरिरहेको उनले बताए। 'म सामान्य परिवारमा जन्मेको मान्छे हुँ', उनले भने, 'तर यहाँ विद्यालय नहुँदा भोगेको दुःखलाई मैले नजिकबाट नियालेको थिएँ, विद्यालय स्थापना गरी छाड्ने अठोटका साथ अघि बढे, काम गर्दै जाने क्रममा अहिले सफल पनि भए, गाउँका बालबालिकाले अहिले घरको खाना खाएर शिक्षा लिन पाएका छन्, त्यो देख्दा गर्वले छाती फुल्छ।' सरकारले विद्यालयको स्वामित्व लिएसँगै छ वर्षअघिबाट विद्यालय सञ्चालनको भार कम भएको उनले सुनाए। 

तामाङले सुरुआत गरेर सञ्चालन भइरहेको विद्यालयको कोशी प्रदेशका प्रदेशसभा सदस्य विनोद बान्तावाले पनि अनुगमन गरेका छन्। आफ्नो ठाउँको शैक्षिक सुधारका लागि समाजसेवी तामाङले खेलेको भूमिका प्रशंसायोग्य रहेको उनले बताए। 'समाजका लागि उनले गरेको काम उदाहरणीय छ', बान्तावाले भने, 'भारी बोकेर योसम्मको काम गर्नु सामान्य कुरा होइन, यस्ता मान्छेको कामलाई हामीले कदरसँगै अनुसरण गर्न आवश्यक छ।'

यो विद्यालयमा हाल करिब तीन सय विद्यार्थी अध्ययनरत रहेको स्थानीय तथा विद्यालयका शिक्षक कुसुम तामाङले बताए। भौगोलिक रुपमा विकट मानिने स्थानमा विद्यालय स्थापनाले धेरै बालबालिकाको सुन्दर भविष्य निर्माण भएको उनी बताउँछन्। 'यहाँ विद्यालय स्थापनाले धेरै बालबालिकाको सुन्दर भविष्य निर्माण भएको छ,' शिक्षक तामाङले भने, 'अहिले तीन सयको हारहारीमा बालबालिका बढ्दै आएका छन्, उनले पुर्‍याएको योगदानलाई समाजले भुल्नुहुँदैन, यो एउटा उदाहरणीय काम हो।' (रासस)

प्रकाशित मिति: १५:०४ बजे, शनिबार, माघ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्