आयोजनाहरू समयमा नै सम्पन्न नहुँदा बाह्य ऋण बढ्यो : अर्थमन्त्री महत
अर्थमन्त्री महतले लगानी क्षेत्रलाई बढाउनका लागि कानूनी सुधारलगायत संरचनात्मक सुधारहरू लगानी सम्मेलन अघि नै गर्ने जनाए।काठमाडौं, माघ २६ : अर्थमन्त्री डा. प्रकाशशरण महतले आयोजनाहरू समयमा नै सम्पन्न नहुदा बाह्य ऋण बढ्दै गएको बताएका छन्।
मेनेजमेन्ट एसोसिएसन अफ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले आयोजनाहरू ठिक ढंगले अघि नबढ्दा बाह्य ऋण बढ्दै गएको बताए।
अर्थमन्त्री महतले पुँजीगत खर्चलाई अनुशासनमा ल्याउने काम गरेको, बहुवर्षीय ठेक्काको समस्या समाधान गर्ने गरी अघिबढेको जानकारी दिए। उनले उदारका साथ स्रोत र साधनलाई मध्यनजर नगरी सामाजिक सुरक्षाका क्षेत्रमा धेरै प्रतिवद्धता गरेकाले निश्चित दायित्व ठूलो हुन पुगेको उल्लेख गरे।
निश्चित दायित्व बढ्दा आन्तरिक स्रोत र साधनले सम्बोधन गर्न कठिन भएकाले आन्तरिक ऋण बढेको उनले बताए। अर्थमन्त्री महतले लगानी क्षेत्रलाई बढाउनका लागि कानूनी सुधारलगायत संरचनात्मक सुधारहरू लगानी सम्मेलन अघि नै गर्ने जनाए।
उनले आगामी जुनको तेश्रो हप्तामा विश्व बैंकको बैठक नेपालमा आयोजना गर्न सहमति जनाएको र अब त्यसको पनि तयारी गरिने जानकारी दिए ।