कोरोनारबारे छलफल गर्न मुख्यमन्त्री, मेयर र अध्यक्षहरू काठमाडौंमा
काठमाडौं, चैत २ : कोरोना भाइरसको संक्रमण रोकथामका लागि पूर्वतयारी गर्न तीनै तहका सरकारबीच छलफल हुन लागेको छ। यसका लागि सातै प्रदेशका मुख्यमन्त्री, महा....

काठमाडौं, चैत २ : कोरोना भाइरसको संक्रमण रोकथामका लागि पूर्वतयारी गर्न तीनै तहका सरकारबीच छलफल हुन लागेको छ। यसका लागि सातै प्रदेशका मुख्यमन्त्री, महानगर र उपमहानगरका मेयर तथा गाउँपालिका अध्यक्षहरू काठमाडौं पुगेका छन्।
आज उनीहरूबीच सिंहदरबारमा छलफल लागेको छ। कोरोना भाइरस रोकथामका लागि तीनै सरकारबीच समवन्य तथा पूर्वतयारीका लागि छलफल हुन लागेको जनाएको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश र स्थानीय सरकार प्रमुखलाई काठमाडौं बोलाएको हो। सातै प्रदेशका मुख्यमन्त्री, महानगर र उपमहानगरका मेयर तथा अधिकांश गाउँपालिका अध्यक्ष छलफलमा सहभागितका लागि काठमाडौं आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति सदस्य सचिवसमेत तोकिएका विडारीले कोरोना भाइरसको रोकथामका लागि तीन तहका सरकारका प्रतिनिधिबीच छलफल हुन लागेको बताए। पूर्वतयारी तथा संक्रमण भएपछि गर्नुपर्ने उपचारको व्यवस्थाबारे पनि छलफल हुने जनाएको छ।
चीनबाट सुरू भएको कोरोना भाइरसको संक्रमण अहिले संसारभर फैलिएको छ। आइतबारसम्म एक सय ५३ देशका एक लाख ५६ हजार नौ सय ८४ जनामा संक्रमण भएको छ। अहिलेसम्म पाँच हजार आठ सय ३९ जनाको मृत्यु भइसकेको छ।
चीनपछि इटाल, इरान, दक्षिण कोरिया, स्पेन, जर्मनी, फ्रान्स, अमेरिकालगायतका देश प्रभावित भएका छन्। नेपालमा पनि यसको जोखिम उच्च रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।











