६ महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि
प्रतिवेदन अनुसार उक्त अवधिमा रेमिट्यान्स रु.७३३ अर्ब २२ करोड पुगेको छ।काठमाडौं, माघ २३ : नेपाल राष्ट्र बैंकको प्रतिवेदनले आर्थिक वर्षको ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २५.३ प्रतिशतले वृद्धि भएको देखाएको छ।
प्रतिवेदन अनुसार उक्त अवधिमा रेमिट्यान्स रु.७३३ अर्ब २२ करोड पुगेको छ। गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ। गत वर्ष भने यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो।
६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख सात हजार नौ सय ७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार चार सय ३५ रहेको जनाइएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार पाँच सय ४८ थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई रु.७९९ अर्ब ५१ करोड पुगेको छ। समीक्षा अवधिमा चालु खाता रु.१६१ अर्ब ६२ करोडले बचतमा रहेको देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो।