बेलायतमाथि पनि यात्रा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा
काठमाडौं, चैत्र २ : संयुक्त राज्य अमेरिकाले युरोपको शक्तिशाली मुलुक बेलायतमाथि पनि यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । शनिवार, मध्यान्ह ह्वा....

काठमाडौं, चैत्र २ : संयुक्त राज्य अमेरिकाले युरोपको शक्तिशाली मुलुक बेलायतमाथि पनि यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । शनिवार, मध्यान्ह ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले बेलायतमाथि पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् ।
उनले बेलायतका साथै आयरल्याण्डमाथि पनि यस्तो प्रतिबन्ध लगाइएको बताए । कोरोना भाइरसलाई अमेरिकामा फैलन नदिनका लागि सावधानी स्वरुप यस्तो प्रतिबन्ध घोषणा गरिएको हो ।
मार्च १६ तारिक सोमबारको मध्यरातिदेखि बेलायत र आयरल्याण्डमाथि लगाइएको यात्रा प्रतिबन्ध कार्यान्वयन गरिने घोषणा पनि पत्रकार सम्मेलनमा गरिएको थियो । यसअघि अमेरिकाले इटली लगायत अन्य सबै युरोपेली मुलुकमाथि यात्रा प्रतिबन्धको घोषणा गरी लागू पनि गरिसकेको छ ।
यसैबीच न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार, अमेरिकाका ४९ वटा राज्यहरुमा यो भाइरस देखा परिसकेको र २१ सय व्यक्तिहरु संक्रमित भइसकेका छन् । सो रिपोर्टका अनुसार, वासिंगटन राज्य, न्यूयोर्क र पोर्टोरिकोमा गरी ४८ जना संक्रमित व्यक्तिहरुको मृत्यु भइसकेको छ ।











