Kathmandu Press

ग्राहक बनेर मन्त्री नुन किन्न पसलमा छिरेपछि..

पोखरा, चैत १ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्ने माथि कडा कारवाही गर्....

ग्राहक बनेर मन्त्री नुन किन्न पसलमा छिरेपछि..

पोखरा, चैत १ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्ने माथि कडा कारवाही गर्ने जानकारी दिएका छन्।

शुक्रबार साँझ पोखराका केही डिपार्टमेन्टल स्टोर्समा आकस्मिक अनुगमन तथा निरीक्षण गर्दै उनले उपभोग्य वस्तुको सहज आपूर्ति भइरहेको बताए। अनुगमनका क्रममा  पोखरा–४ चिप्लेढुङ्गामा रहेको यादव स्टोर्सले नुनको खुद्रा विक्री मूल्य प्रतिकेजी २० रूपैयाँ रहेकामा २५ रूपैयाँमा बेच्ने गरेको पाइएपछि मन्त्री भट्टले सो स्टोर्सलाई तत्कालै कारवाही गर्न निर्देशन दिएका छन्।

उनी ग्राहक बनेर स्टोरमा गएर नुनको मूल्य सोधेका थिए। खुद्रा मूल्यभन्दा बढी  भनेपछि सो स्टोर्सलाई तत्काल आवश्यक कारवाही प्रक्रिया अघि बढाउन मन्त्रालयका सचिव वैकुण्ठ अर्याल तथा आपूर्ति महाशाखाका सहसचिव प्रकाश दाहाललाई आवश्यक निर्देशन दिएको मन्त्री भट्टका निजी सचिव वीरेन्द्र बस्नेतले जानकारी दिए। 

“हामी पोखरामा डिर्पाटमेन्टल स्टोर्स, पसल, औषधि पसललगायतको अनुगमनमा छौँ, हिजो केही पसलमा अनुगमन गर्‍यौँ। केहीमा खुद्रा मूल्यभन्दा बढी लिएको समेत पाइयो”, बस्नेतले भने, “बढी मूल्य लिनेलाई कारवाहीका लागि वाणिज्यको टोली पठाइसकिएको छ। उहाँहरुले किनेको पसलमै त्यति मूल्य तिरेको भन्नुभएको छ तर त्यहाँको नम्बर माग्दा दिनुभएको छैन।” 

पर्यटकीय शहर पोखराको पर्यटन व्यवसायको अवस्था, बजारको चहलपहल तथा बजारको बस्तुस्थितिका बारेमा जानकारी लिनका लागि मन्त्री भट्ट सहितको सो मन्त्रालयका उच्च अधिकृत संलग्न भएको टोली यहाँ आएको बताइन्छ।

पछिल्लो समय देशमा कोरोना भाइरस सङ्क्रमणको त्रासलाई देखाएर ग्यास, खाद्यान्न, लत्ताकपडामा कालोबजारी गर्ने तथा कृत्रिम अभाव सिर्जना हुन थालेपछि सरकारी निकाय चनाखो बनेका छन्। जिल्ला प्रशासन, उपभोक्ता समितिलगायतका सङ्घसंस्थाले समेत जिल्लामा बजार अनुगमनलाई तीव्रता दिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए। 

यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रबन्धक व्रिजेशकुमार झाले नुनको खुद्रा मूल्यभन्दा बढीमा  बिक्री गरिनु गैरकानूनी रहेको र  अभाव सिर्जना गरी कालोबजारी गर्न खोज्ने व्यापारिक फार्म तथा विक्रेतालाई कारवाहीको दायरामा ल्याइने जानकारी दिए। 
 
कर्पोरेशनसँग अहिले कम्तीमा पनि  १० महिनाका लागि पुग्ने गरी नुन  मौज्दात रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए।  “देशभर मासिक १६ हजार मेट्रिक टन नुन खपत हुन्छ। हामीसँग अहिले एक लाख ५५ हजार ३०० मेट्रिक टन नुन मौज्दात छ। अहिलेको अवस्थामा समेत आगामी १० महिनालाई पर्याप्त हुन्छ, आत्तिनु पर्दैन”, प्रबन्धक झाले भने। रासस
 

प्रकाशित मिति: १४:२५ बजे, शनिबार, चैत १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्