Kathmandu Press

चन्दन भराटेश्वरका सम्पदा : मल्लकालीन देवस्थल भएको प्रमाण

पुरातत्वविद् एवं छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठ तथा वडा प्रतिनिधिसहितको टोलीले गरेको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको हो। 
चन्दन भराटेश्वरका सम्पदा : मल्लकालीन देवस्थल भएको प्रमाण

कीर्तिपुर (काठमाडौं), माघ १९ : चन्द्रागिरि नगरपालिका–६ स्थित चन्दन भराटेश्वर महादेवस्थल परिसरका सम्पदाको प्रारम्भिक अध्ययनले उक्त सम्पदा तीन सय वर्षअघिका मल्लकालीन भएको प्रमाण प्राप्त भएको छ। पुरातत्वविद् एवं छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठ तथा वडा प्रतिनिधिसहितको टोलीले गरेको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको हो। 

'अध्ययनका क्रममा नेपाल संवत् ८०९ (तीन सय ३५ वर्षअघि) को एउटा र नेपाल संवत् ८३२ (तीन सय १२ वर्षअघि) का शिलालेख भेटिएका छन्। त्यसले यहाँ थप पुरातात्विक सम्पदा हुनसक्ने सङ्केत गरेको छ', श्रेष्ठले भने। उनका अनुसार नेसं ८०९ चैत्र शुक्ल मिति उल्लेखित शिलालेखमा ‘श्री ३ योगनरेन्द्र मल्ल’ लेखिनुका साथै ‘नास द्योछें’ उल्लेख छ। 

'यसको अर्थ यहाँ नृत्यका देवता राखिने घर (नास द्यो छें) थियो भन्ने हो', श्रेष्ठले भने। कालक्रममा नास द्यो छेँ भत्किएर पुरिएको र शिलालेख चाहीँ बाहिर रहेको हुन सक्ने उनको अनुमान छ। यसले सो क्षेत्रमा ठूला सम्पदा रहेको संकेत गरेको उनले बताए।

Hardik ivf

त्यसैगरी नेसं ८३२ को शिला लेखमा ‘काशीनाथ भारो (सम्भवतः थर_ र शिव भारोले गणेशको मूर्ति स्थापना गरेको’ उल्लेख छ। त्यतिबेला कीर्तिपुरदेखि थानकोटसम्मको क्षेत्र काठमाडौँ उपत्यकाका तीन राज्यमध्ये पाटनको अधिनस्थ रहेकाले योगनरेन्द्र मल्लको नाम उल्लेख भएको पनि पुरातत्वविद् श्रेष्ठले बताए। 

सोही स्थानमा तीन वर्षअघि चन्दन भराटेश्वर मन्दिर परिसरको दक्षिण पूर्वी कुनामा रहेको पार्वती कुण्ड सफा गर्दा एउटा ठूलो ढुुङ्गेधारा भेटिएको थियो। त्यसपछि जनप्रतिनिधिले पुरातत्वविद्लाई थप अध्ययन गरिदिन अनुरोध गरेका थिए। 

'मकर आकृतिको त्यो धारा प्राचीन हो। तर कति पुरानो (लिच्छवी वा मल्लकालको) हुन् भन्ने कुराको निर्क्याेलका लागि थप अध्ययन गर्नुपर्छ', पुरातत्वविद् श्रेष्ठले भने। यसका लागि फागुनको दोस्रो सातादेखि उक्त क्षेत्रमा थप उत्खनन गर्नुपर्ने वा नपर्नेबारे अध्ययन गरिने उनले जानकारी दिए। 

वडाध्यक्ष सञ्जय सिग्देलका अनुसार जनप्रतिनिधिले लामो समयअघिदेखि चन्दन भराटेश्वर क्षेत्रको उत्खनन गर्नुपर्ने माग राख्दै आएका थिए। मकर आकृतिको धाराको आकार प्रकार र त्यसमा कुँदिएका बुटाका आधारमा पुरातत्वविद्ले लिच्छविकालीन हुन सक्ने अनुमान गरेका उनको भनाइ थियो। 

पछिल्लो समय नगरपालिकाले चन्दन भराटेश्वर मन्दिर परिसरमा गुठी, क्लब र ज्येष्ठ नागरिक भवन बनाउने गरी गुरु योजना मनाइरहेको छ। त्यसअघि नै त्यहाँ उत्खनन गरेर प्राप्त सम्पदाको व्यवस्थापन गर्ने र आवश्यकता परे गुरु योजनासमेत संशोधन गर्नुपर्ने अवस्था आउने चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीको भनाइ छ। 

वडाध्यक्ष सिग्देलका अनुसार उक्त मन्दिर परिसरसहित वडा नं ६ मा भेटिएका अन्य सम्पदाको संरक्षणका लागि पनि पुरातत्व विभागसँग समन्वय भइरहेको छ। (रासस)

प्रकाशित मिति: १४:३२ बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्