बाँदर नियन्त्रणका लागि रूख काट्ने वडाध्यक्षको निर्णयमाथि महानगरको रोक
पोखरा महानगरका कानुन महाशाखा प्रमुख नारायण शर्माले वडाध्यक्ष पाण्डेलाई रूख काट्ने निर्णय अबिलम्व बन्द गर्न पत्राचार गरेका छन्।पोखरा, माघ १६ : बाँदर नियन्त्रण गर्ने भन्दै रूख काट्न पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जारी गरेको सूचनामा महानगरले रोक लगाएको छ।
पोखरा महानगरका कानुन महाशाखा प्रमुख नारायण शर्माले वडाध्यक्ष पाण्डेलाई रूख काट्ने निर्णय अबिलम्व बन्द गर्न पत्राचार गरेका छन्। त्यसपछि वडाध्यक्ष पाण्डेले रूख काट्ने निर्णय महानगरको निर्देशन अनुसार रोक्न सर्वसाधारण समक्ष आग्रह गरेका छन्।
पाण्डेले सोमबार एक सूचना प्रकाशित गर्दै बाँदर नियन्त्रणका लागि रूख बिरूवा काट्न वडाबासीलाई आग्रह गरेका थिए।
यसैविच पोखरा महानगरका मेयर धनराज आचार्यले बाँदर नियन्त्रणका नाममा रूख काट्ने निर्णय नभएको बताएका छन्।
रूख काट्ने, फाड्ने जस्ता कुनै पनि निर्णय नभएकाले भ्रममा नपर्न समेत महानगरबासीलाई आग्रह गरेका छन्। वडाध्यक्ष पाण्डेले रूख काट्ने निर्णय गरेपछि वातावरण अभियन्ताले विरोध जनाएका थिए। वडाध्यक्ष पाण्डेले गण्डकी सरकारको नीति तथा कार्यक्रम अनुसार भन्दै बाँदर नियन्त्रण गर्न रूख काट्न सूचना जारी गरेका थिए।