Kathmandu Press

सरकारको निर्देशन,‘सीमा क्षेत्रमा अत्यावश्यक कामबाहेक आवतजावत नगर्नू’

काठमाडौं, फागुन २९ : भारत तथा चीनको सीमावर्ती क्षेत्रमा अत्यावश्यक कामबाहेक आवतजावत नगर्न सरकारले स्थानीय तहमार्फत सर्वसाधारणलाई अनुरोध गरेको छ।

....
सरकारको निर्देशन,‘सीमा क्षेत्रमा अत्यावश्यक कामबाहेक आवतजावत नगर्नू’

काठमाडौं, फागुन २९ : भारत तथा चीनको सीमावर्ती क्षेत्रमा अत्यावश्यक कामबाहेक आवतजावत नगर्न सरकारले स्थानीय तहमार्फत सर्वसाधारणलाई अनुरोध गरेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ध्यानाकर्षण पत्र पठाउँदै कोरोना भाइरसको संक्रमण हुन नदिने सतर्कता अपनाउन आग्रह गरेको हो। मन्त्रालय देशभरका सात सय ५३ स्थानीय तह ११ बुँदे ध्यानाकर्षण पत्र पठाएको छ।

जसमा भारतसँग जोडिएका मुख्य नाका पशुपतिनगर, काँकरभिट्टा, जोगबनी, जयनगर, रक्सौल, सुनौली, जमुनाह, गड्डाचौकीलगायत ठाउँमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्वास्थ्य कक्ष स्थापना गरी स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइएको छ। त्यस्तै, सीमावर्ती क्षेत्रमा अत्यावश्यक काममा बाहेक आवतजावत नगर्न अनुरोध गरेको छ। त्यसका लागि स्थानीय तहलाई सचेत गराउन भनिएको छ।

११ बुँदे पत्रमा स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न पनि अनुरोध गरेको छ। मन्त्रालयले सबै स्थानीय तहलाई कोरोना भाइरसको संक्रमण रोक्नका लागि ध्यानाकर्षण पत्र पठाएको मन्त्रालयका सहसचिव वसन्त अधिकारीले बताए।

मन्त्रालयले मानिसको ठूलो जमघट हुने सिनेमा हल, बसपार्क, पार्टीप्यालेस तथा सामूहिक बसोबास हुने अपार्टमेन्ट जस्ता स्थानमा स्वास्थ्यकर्मी टोली खटाई समयसमयमा परीक्षण गर्ने व्यवस्था मिलाउनेसमेत स्थानीय तहलाई आग्रह गरेको छ।  

मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा नआएसम्म नेपाल प्रवेश गर्ने मुख्य सीमानाकामा उच्च सतर्कता अपनाई नेपाल प्रवेश गर्ने सबै यात्रुको स्वास्थ्य जाँच÷स्क्रिनिङको कार्यलाई प्रभावकारी गर्न निर्देशन दिएको छ।

स्थानीय तहमा रहेका सबै अस्पताल, स्वास्थ्य केन्द्रमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी आवश्यकमात्रामा छुट्टै श्ययाको व्यवस्था मिलाउन, बिरामीको प्रारम्भिक जाँच, परीक्षण गर्ने र सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा रिफर गरी व्यवस्था मिलाउनसमेत अनुरोध गरेको छ।

मन्त्रालयले सबै स्थानीय तहलाई सङ्क्रमण, यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सचेतनासम्बन्धी जनहितका सूचना जारी गरी प्रचारप्रसार गर्ने/गराउने, स्यानिटाइजर, मास्क, औषधि एवं अत्यावश्यक सामग्रीलगायत दैनिक उपभोग्य अन्य वस्तुको बजारमा नियमित एवं सहज आपूर्तिको व्यवस्था तथा बजार स्वच्छता कायम राख्न स्थानीय तहबाट सम्बन्धित निकायसँग समन्वय गरी बजार अनुगमन तथा नियमनको कार्यलाई प्रभावकारी बनाउनसमेत आग्रह गरेको छ।

 

प्रकाशित मिति: १५:०७ बजे, बिहीबार, फागुन २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्