सामाजिक सञ्जालबारे संसदमा गगन–गोकुल सवालजवाफ
काठमाडौं, फागुन १० : प्रतिनिधिसभामा सूचना प्रविधिसम्बन्धी विधेयकको माथि भएको सैद्धान्तिक छलफलमा कांग्रेस नेता गगन थापाले उठाएका विषयमा सूचना तथा सञ्चा....
काठमाडौं, फागुन १० : प्रतिनिधिसभामा सूचना प्रविधिसम्बन्धी विधेयकको माथि भएको सैद्धान्तिक छलफलमा कांग्रेस नेता गगन थापाले उठाएका विषयमा सूचना तथा सञ्चारमन्त्रीले जवाफ दिएका छन् । थापाको रोचक प्रश्नमाथि बाँस्कोटाले रमाइलो शैलीमा दिएको जवाफले सबैको ध्यान तानेको थियो ।
गगनको प्रश्न थियो, ‘सामाजिक सञ्जाल दर्ता गर्न आएनन् भने बन्द गर्ने सरकारको चाहना हो ? अधिकारको दुरुपयोग गर्दैगर्दा संविधानले दिएको फ्री स्पीचकोे अधिकार कुण्ठित होला भनेर हामी सचेत हुन्छौँ भने सरकार हुनु पर्दैन ?’
थापाले भने, ‘प्रधानमन्त्रीले हरेक दिन कसैलाई होच्याउन, जिस्काउन मिल्ने तर त्यसका बारेमा कसैले आलोजना गर्याे भने यही होच्याएको नाममा उसले दण्ड पाउनेवाला छ । विषय कुनै दफा वा धाराको हैन, विषय नियतको हो । नियत नै बद्नियत भएपछि सच्याउने कहाँ ? यो सदनमा छलफल गरेर मात्र सच्चिने ऐन हैन । जनताको संघर्षबाट मात्र यो सच्चिन्छ ।’
थापाले मन्त्रीलाई शाही शासन स्मरण गराउँदै भने, ‘कुनै बेला आलोचना गर्ने मुख बन्द गर्न राजा ज्ञानेन्द्रले फोन काटेको सम्झना छ । फोन काट्दै गर्दा न फोन बन्द भयो न आलोचना गर्नेको मुख बन्द भयो । म सरकारलाई यो स्मरण गराउन चाहन्छु ।’
सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने, ‘आजभोलि जुम्ल्याहा शब्द निकै आउँछन्– दम्भ र अधिनायक । अधिनायकवाद र स्वतन्त्रताको लडाइँभित्र ज्ञानेन्द्रजस्ता कुरा पनि उठे । इतिहास पल्टाउँदा हुन्छ– ज्ञानेन्द्र र राजतन्त्र फाल्ने एउटा कम्पोनेन्ट आज यो ठाउँ (सरकार) मा आइपुगेको हो । त्यसका लागि कसैको बेपत्ता योगदान र कसैको वेमतलब परिणाम लोकतान्त्रिक गणतन्त्र हैन । यो साझा संकल्प र सपनाको फल हो । विधेयकमा केही कमजोरी छ भने मिलाउन सकिन्छ । पूर्वाग्रहलाई त के भन्न सकिन्छ र ? सलाम छ हजुर !’
विधेयकले प्रेस स्वतन्त्रता खण्डित नगर्ने बताउँदै मन्त्री बास्कोटाले भने, ‘जथाभावी लेख्ने, रिभेञ्ज पोर्नोग्राफीले मान्छेले आत्महत्या गरेका छन् । बेलायतमा पनि पाँच हजार पाउण्ड जरिवाना र छ महिना जेल वा दुवै सजायका कुरा पनि छन् । अमेरिका र भारतमा पनि छ । आज साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको कुरा पनि हो ।’
विपक्षीका प्रश्नको ओठे जवाफ दिने ढंगले प्रस्तुत भएका मन्त्री बास्कोटाले भने, ‘सरकारले अस्लिल सामग्री प्रयोगमा रोक लगाउन खोजेको हो । त्यो गर्नैपर्छ । यो पनि दुईतिहाइको दम्भ र अधिनायकवाद हो भने हामीले कस्तो समाजको परिकल्पना गर्न खोजेको ? हामी साँस्कृतिक मूल्यसहितको सामाजिक सञ्जालको प्रयोग गर्छौँ ।’






