कर्णालीको १९ हजार टन रैथाने बाली खरिद गर्दै व्यापार कम्पनी
यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।सुर्खेत, माघ ६ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशले १९ हजार चार सय ६४ मेट्रिक टन रैथाने बाली खरिद गर्ने भएको छ।
यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
कर्णाली प्रदेशमा उत्पादित रैथानेबालीको संकलन, प्रशोधन र बजारीकरणका लागि प्रशोधन केन्द्र (मिल) स्थापना गर्नेसम्बन्धी मन्त्रालय र व्यापार कम्पनीबीच शुक्रबार समझदारी भएको हो। समझदारी पत्रमा मन्त्रालयको तर्फबाट सचिव डा. नरहरिप्रसाद घिमिरे र कम्पनीको तर्फबाट निमित्त प्रादेशिक प्रमुख माधव मिश्रले हस्ताक्षर गरे।
समझदारीअनुसार व्यापार कम्पनीले कोदो आठ हजार छ सय ६०, कागुनो तीन सय ३८, चिनो छ सय ८७, जुनेलो दुई, फापर सात सय ६२, उवा छ सय १९, सिमी चार हजार चार सय ७० र मार्सी धान तीन हजार आठ सय ८६ गरी कूल जम्मा १९ हजार चार सय ६४ मेट्रिक टन रैथाने बालीे खरिद गर्ने सहमति भएको सचिव डा. घिमिरेले जानकारी दिए।
कर्णाली प्रदेश सरकारको पहिलो बैठकले कर्णालीलाई प्राङ्गारिक प्रदेश स्थापित गर्ने निर्णय भएअनुसार कृषि मन्त्रालयले ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषि प्रवद्र्धन ऐन २०७६’ मार्फत आफ्नो नीति र कार्यक्रममा प्राङ्गारिक कृषि र रैथानेबाली प्रवद्र्धनमा सहयोग तथा सहजीकरण गर्दै आएको छ। रासस