Kathmandu Press

‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’

देशभित्र बिजुलीको खपत बढाउनुपर्नेमा जोड दिँदै उनले बचेको बिजुली बेचे व्यापारघाटा कम गर्न सरकार लागेको बताए। 
‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’

काठमाडौं, माघ  ४ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को २४औँ वार्षिकोत्सवका अवसरमा काठमाडाैंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रको सार्थक पहलबाट मात्रै मुलुकको ऊर्जा क्षेत्रले फड्को मार्नसक्ने बताए। देशभित्र बिजुलीको खपत बढाउनुपर्नेमा जोड दिँदै उनले बचेको बिजुली बेचे व्यापारघाटा कम गर्न सरकार लागेको बताए। 

ऊर्जा क्षेत्रमा लगानीका लागि सहज वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आर्थिक समृद्धिको चाहना साकार पार्न वर्तमान सरकार क्रियाशील छ भने। उनले भने, 'आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन सरकारका प्रमुख प्राथमिकता हुन्।'

आगामी वैशाखमा लगानी सम्मेलन आयोजना हुन लागेको जानकारी दिँदै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्राउन कानुनी, संरचनागत सुधारका लागि सम्बन्धित निकायसँग छलफल गरेर निष्कर्षमा पुर्याइने बताए। भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति भएको भए पनि आन्तरिक खपत वृद्धि गर्ने विषय नै प्रमुख प्राथमिकतामा रहेको उनले बताए। 

इपानका अध्यक्ष गणेश कार्कीले मुलुकको ऊर्जा क्षेत्र सकारात्मकरूपमा अगाडि बढेको उल्लेख गर्दै विद्युत् खरिद सम्झौतालगायतका माग सम्बोधन गर्न आग्रह गरे। उनले ऊर्जा क्षेत्रका सुरक्षा चुनौती सम्बोधन गरिदिन सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १३:२१ बजे, बिहीबार, माघ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्