मुलुकको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको ६० प्रतिशत योगदान : मन्त्री बस्नेत
निजी क्षेत्रले अगाडि सारेका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको र जायज विषयलाई सम्मान गर्दै अगाडि बढेको उनले स्पष्ट पारे।काठमाडौं, माघ ४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको ६० प्रतिशत योगदान रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रको साझेदारीमा मात्र समृद्ध नेपाल निर्माणको सङ्कल्प पूरा हुने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को २४औँ वार्षिकोत्सवका अवसरमा काठमाडाैंमा आयोजित कार्यक्रममा उनले त्यस्ताे बताएका हुन्।
निजी क्षेत्रले अगाडि सारेका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको र जायज विषयलाई सम्मान गर्दै अगाडि बढेको उनले स्पष्ट पारे। पछिल्लो एक दशकमा आठ सय मेगावाट क्षमताबाट तीन हजार मेगावाट बिजुली उत्पादन हुन थालेको तथा ९८ प्रतिशत घरमा विद्युत् सेवा पुगेको तथ्य पेस गर्नुभयो। वर्षायाम र सुक्खायामका बीचमा ऊर्जा उत्पादनमा रहेको अन्तर पूरा गर्न आजैदेखि नयाँ ढङ्गले सोच्नुपर्ने उनले बताए।
मन्त्री बस्नेतले निर्माणाधीन आयोजनालाई शीघ्र रूपमा सम्पन्न गर्ने वातावरण बनाउनैपर्ने, जलाशयुक्त आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने र ऊर्जा मिश्रण अवधारणालाई सँगसँगै अगाडि बढाइने छ बताए। सरकारले ऊर्जा क्षेत्रलाई पूर्वाधारको रूपमा मात्रै नहेरेको बताउँदै उनले आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाइ स्वीकार गरिएकाले निश्चिन्त भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे।
मन्त्री बस्नेतले निजी क्षेत्रलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दै भने, 'उत्पादन अनुमतिपत्र लिइसकेपछि १० वर्षभन्दा बढी समय उल्लेख्यरूपमा काम किन हुन सकेन, म तपाईँहरूको ध्यानाकर्षण गराउँछु। म इपानको जिम्मेवारीपूर्ण पहलका लागि आग्रह गर्दछु।' उनले विद्युत् खरिद सम्झौता (पिपीए) का विषयमा धेरै चिन्ता नगर्न आग्रह गर्दै भने, 'तपाईँहरू यति काम गर्छौँ भनेर आउनुस्। तपाईँहरूको ठाउँबाट गर्नुपर्ने काम पूरा गरेर आउनुस्। मन्त्रालयको तर्फबाट सहजीकरण गर्ने वातावरण बन्छ। निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार तयार छाैं।'
इपानका अध्यक्ष गणेश कार्कीले मुलुकको ऊर्जा क्षेत्र सकारात्मकरूपमा अगाडि बढेको उल्लेख गर्दै विद्युत् खरिद सम्झौतालगायतका माग सम्बोधन गर्न आग्रह गरे। उनले ऊर्जा क्षेत्रका सुरक्षा चुनौती सम्बोधन गरिदिन सरकारको ध्यानाकर्षण गराए।