Kathmandu Press

 तत्काल सवा अर्ब भुक्तानी गरे एक हप्ताभित्रै इटालीयन कम्पनी फर्किने 

काठमाडौं, फागुन १० : मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटालीयन कम्पनी सिएमसी दि रेभेनाले काम छोडेर बाहिर गएदेखि भएको नोक्सानी बराबरको रकम भ....

 तत्काल सवा अर्ब भुक्तानी गरे एक हप्ताभित्रै इटालीयन कम्पनी फर्किने 
फाईल फोटो

काठमाडौं, फागुन १० : मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटालीयन कम्पनी सिएमसी दि रेभेनाले काम छोडेर बाहिर गएदेखि भएको नोक्सानी बराबरको रकम भुत्तानी गरे नेपाल फर्कने सरकारलाई औपचारिक पत्र पठाएको छ । सिएमसीले आफुले साइट छोडेर गएको मिति गत डिसेम्बर १७ देखि हालसम्म काम गर्दा हुन आउने रकम माग गर्दैै नेपाल सरकारले तत्काल भुक्तानी गरे नेपाल फर्किने बताएको हो ।

खानेपानी मन्त्रालय स्रोतका अनुसार आयोजनाले भुक्तानी नदिएका कारण बाध्य भएर फर्किएको हुँदा यो बीचमा काम गर्दा हुने आम्दानीको समेत सिएमसीले माग गरेको हो । 

“सिएमसीले हालसम्म भएको नोक्सानी वापत करिब ९० करोड र पहिलाको बक्यौता ३६ करोड भुक्तानी गरे ७ दिनभित्र काम सुचारु गर्ने भनी चिठी पठाएको छ,” स्रोत भन्छ, “यसमा सरकार पनि सकारात्मक रहेको छ ।” 

Hardik ivf

सिएमसीले आफुले अब थप नगद प्रवाह (क्यास फ्लो) गर्न नसक्ने भएकाले नेपाल सरकारले नै त्यसको ग्यारेन्टी गर्नुपर्ने (मागेको समयमा भुक्तानी दिनुपर्ने गरी) र नेपाल फर्किनका लागि कम्पनीका कामदारलाई सुरक्षाको ग्यारेन्टीसमेत हुनुपर्ने माग राखेको छ ।

सिएमसीलाई नै फर्काउँदा लक्ष्यअनुसार काम हुने हुँदा उसलाई फकाएर भएपनि फर्काउन खानेपानी मन्त्री बिना मगर लागिरहेकी छिन् । स्रोतका अनुसार सिएमसी फर्काउन मेलम्ची आयोजनाका अध्यक्ष रहेका नयाँ सचिव दिपेन्द्रनाथ शर्मा पनि सकारात्मक रहेको हुँदा सिएमसी फर्किन सक्ने सम्भावना बढेको छ ।

याे पनि पढ्नुहाेस् : मेलम्ची आयोजना + सीएमसी कम्पनी = काठमाडौंवासी

खानेपानी मन्त्री बिना मगरले शुक्रबार संसदमा मेलम्चीबारेका प्रश्नको जवाफ दिंदै काठमाडौंवासीले छिटोभन्दा छिटो पानी पाउनका लागि सिएमसी नै फर्काउनुपर्ने बताएकी छिन् । उनले मेलम्ची आयोजनाबारे आफ्नो सूत्र सार्वजनिक गर्दै भनेकी छिन्, ‘मेलम्ची आयोजना प्लस सीएमसी कम्पनी बराबर काठमाडौंवासी’ ।

गत डिसेम्बर १९ तारिखमा एकतर्फी रुपमा ठेक्का तोडेर घर फर्किन लागेका सिएमसीका कर्मचारीलाई  तत्कालिन खानेपानी सचिव गजेन्द्र ठाकुरसहितको प्रहरी टोली होटल पुगेर पक्राउ गरिएको थियो ।

पक्राउपछि गरिएको सम्झौतामा नयाँ वर्षपछि काममा फर्किने बताए पनि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै सिएमसीले आफ्ना कामदार नेपाल पठाउन मानेको छैन ।

सिएमसी फर्काउन सवा अर्ब तिर्नुपर्ने
अहिले सरकारले सिएमसीले भुकम्पलगायत विभिन्न समयमा भएको प्राकृतिक क्षति बराबर दावी गरेको पहिल्यै दिनुपर्ने ३६ करोड, त्यसअघिको कामको भुक्तानी गर्न बाँकी १५ करोड छ भने डिसेम्बर महिनाको १६ तारिखसम्म काम गरेको रकम करिब १० करोड हुन आउने इञ्जिनियरहरु बताउँछन् । यसैगरी कम्पनी “ब्याक” भएपछिको समयमा काम गरेको भए हुन आउने आम्दानी बराबर दाबी गरेको ९० करोड पनि तत्काल भुक्तानी गर्नुपर्ने देखिन्छ ।

यसरी हेर्दा सरकारले सिएमसीलाई करिब १ अर्ब ८० करोड रकम भुक्तानी गर्नुपर्ने छ । तर, तत्काल पहिलेको ३६ करोड र अहिले माग गरेको ९० करोड भुक्तानी गरे एक हप्ताभित्र काम सुरु गर्ने सिएमसीको शर्त रहेको मन्त्रालय स्रोतले बताएको छ ।

यसैबीच सिएमसीले नेपाली ठेकेदार तथा व्यवसायीलाई तिर्नुपर्ने सवा १ अर्ब रकम भुक्तानी नगरी अरु कुनै पनि ठेकेदारलाई साइटमा जान नदिने चेतावनी दिएका छन् । सिएमसीसँग काम गरेको स्थानीय ठेकेदार कम्पनी मेघा टेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर प्रालिका कार्यकारी अध्यक्ष श्रीराम न्यौपानेले आफ्नो भुक्तानी नदिएसम्म कुनै पनि हालतमा अर्को कम्पनीलाई साइटमै जान नदिने बताएका छन् । 

काठमाडौं प्रेससँगको कुराकानीमा उनले भने, “हामीले बुझेअनुसार सचिव गजेन्द्र ठाकुरका कारण सिएमसी घर फर्केको हो । यदि सिएमसी यहाँ पुनः काम गर्न आएमा हामी सरकारसँग भुक्तानी माग्दैनौं तर उसको मुद्दा टुङ्गो नलगाइ अर्को कम्पनी साइटमा कुनै पनि हालतमा लानै मिल्दैन र लान पनि सक्दैन ।”
 

प्रकाशित मिति: १८:२३ बजे, शुक्रबार, फागुन १०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्