Kathmandu Press

आतंककारी समूहबाट बाँस्कोटाको घरमा बम प्रहार : प्रचण्ड

काठमाडौं, फागुन २८ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा आतंककारी समूहले बम प्रहार गर....

आतंककारी समूहबाट बाँस्कोटाको घरमा बम प्रहार : प्रचण्ड

काठमाडौं, फागुन २८ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा आतंककारी समूहले बम प्रहार गरेको जनाएका छन्।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले घटनाको निन्दा पनि गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री कमरेड गोकुलप्रसाद बाँस्कोटाको मध्यपुर नगरपालिका वडा नं. १ लोकन्थली, भक्तपुरस्थित निजीनिवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्‍याएको छ।’

उनले घटनाको निन्दा एवं भ्रत्सना गर्दै कारबाहीको माग गरेका छन्। ‘म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्दछु। घटनामासंलग्न अपराधिहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु,’ प्रचण्डले भनेका छन्।

बुधबार बिहान लोकन्थलीस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गरिएको थियो। बिस्फोटबाट सामान्य क्षति पुगेको छ।

घटनास्थलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएको छ। जसमा बाँस्कोटालाई १० आरोप लगाएको छ।

पूवसञ्चारमन्त्री बास्कोटामाथि विप्लवले लगाएका १० आरोप:

१) सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले।

२) २४ अर्बको स्याटेलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले।

३) १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरूपयोग गरेकाले।

४) १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले।

५) मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौं हिनामिना गरेकाले।

६) सरकारको प्रवक्ता पदको दुरूपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले।

७) नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासीवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले।

८) राष्ट्र, जनता र क्रान्तिका विरूद्ध गोयबल्सशैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले।

९) आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले।

१०) देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले।

 

प्रकाशित मिति: १२:२३ बजे, बुधबार, फागुन २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्