कानुन निर्माण गर्न लुम्बिनी प्रदेश सभाले थाल्यो स्थानीय तहसँग छलफल
प्रदेश सभाले बुधबार बुटवलमा रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग कानुन निर्माण तथा सभा सञ्चालनसम्बन्धी छलफल आयोजना गरेको छ।रुपन्देही, पुस २६ : लुम्बिनी प्रदेश सभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ।
प्रदेश सभाले प्रदेशअन्तर्गतका स्थानीय पालकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग कानुन निर्माण र सभा सञ्चालनका विषयमा छलफल थालेको हो।
प्रदेश सभाले बुधबार बुटवलमा रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग कानुन निर्माण तथा सभा सञ्चालनसम्बन्धी छलफल आयोजना गरेको छ।
स्थानीय तहसँगको अन्तरक्रियापछि प्रदेश सभा सचिवालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभाले कानून निर्माणमा सङ्घ र स्थानीय तहसँग सहकार्यका लागि स्थानीय तहसँग छलफल थालेको जानकारी दिए।
उनले प्रदेश सभाले स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालनसम्बन्धी अन्तरक्रियामा कानुनी र संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहसँग कानुन निर्माणमा सहकार्य, समन्वय र सहजीकरण गरिएको बताए। कानुन निर्माणमा स्थानीय सरकारलाई जोड्न यस खालको छलफल अहिलेसम्म दाङ, बाँके, बर्दिया र रुपन्देहीका स्थानीय तहसँग गरिएको उनले बताए।
संघीयता कार्यान्वयनमा प्रदेश संरचना नयाँ भएकाले पनि स्थानीय सरकारसँग समन्वय गरेर सबै जिल्लामा प्रदेशसभाले कार्यक्रम थालेको उनले बताए। उनले स्थानीय तह र प्रदेशसभाबीचको यस्तो छलफलमा स्थानीय सरकारले कसरी कानुन बनाएका छन्, ती कानुन कार्यान्वयन भएका छन् वा छैनन् र प्रदेश तथा सङ्घीय कानुनसँग बाझिएका छन् कि छैनन् भन्ने मुख्य विषय बनाएर छलफल गरिएको जनाए।