Kathmandu Press

केन्द्रीय क्याम्पसलाई सुन्दर बनाउँदै त्रिभुवन विश्वविद्यालय

विश्वविद्यालयका प्राचार्य प्रा डा ध्यानेन्द्रबहादुर राईका अनुसार सौन्दर्यीकरणको सुरुआत केन्द्रीय भवनअघिको जमिन मिलाउने कामबाट गरिएको छ।
केन्द्रीय क्याम्पसलाई सुन्दर बनाउँदै त्रिभुवन विश्वविद्यालय

कीर्तिपुर, पुस २५ : उच्च शिक्षाको केन्द्र रहे पनि अव्यवस्थित परिसरका कारण आलोचना खेप्दै आएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसले सौन्दर्यीकरण थालेको छ। सौन्दर्यीकरणको सुरुआत ‘घडीघर’को नामबाट चिनिने मुख्य भवनको प्राङ्गणबाट गरिएको छ।

विश्वविद्यालयका प्राचार्य प्रा डा ध्यानेन्द्रबहादुर राईका अनुसार सौन्दर्यीकरणको सुरुआत केन्द्रीय भवनअघिको जमिन मिलाउने कामबाट गरिएको छ। करिब १२ रोपनी फराकिलो सो जमिन विश्वविद्यालयकै आकर्षक थलो भए पनि जमिनको बनोट नमिलेका कारण उबड खाबड हुनुका साथै वर्षामा पानी जम्ने गर्दथ्यो।

'जमिनको सतहलाई थोरै पूर्वतर्फ ओह्रालो बनाउने काम सकेपछि त्यहीँकै मौलिक झार हुर्कन दिएर बस्न हुने बनाउँछौँ, प्राविधिक योजनाअनुसार घाम नछेक्ने गरी ससाना बिरुवा रोप्ने र बस्ने बेन्च मिलाउँछौँ', प्राचार्य राईले भने। जमिन मिलाउने लगायतको काम अहिले धर्म निर्माण सेवा प्रालिले गरिरहेको जानकारी पनि उनले बताए। 

Hardik ivf

सौन्दर्यीकरणसहित त्रिवि अडिटोरियम हलको छाना मर्मत र प्राचार्य कार्यालयमा एक तला थप्ने काम समेत गरी तीनवटा प्याकेजको ठेक्का धर्म निर्माण सेवा प्रालिलाई दिइएको छ। कूल रु १५ लाखको कामका लागि छ महिनाको अवधि तोकिएको जानकारी पनि प्राचार्य राईले दिए। बल्खुबाट दक्षिणतर्फ कीर्तिपुरसम्म र बागमतीको पश्चिमी किनारादेख चोभारको सीमासम्म गरी कूल तीन हजार सात सय रोपनी क्षेत्रफल ओगटेको त्रिवि परिसर स्थापनाकालदेखि अहिलेसम्म पनि अव्यवस्थित छ। 

सबैतिर सीमा पर्खाल नहुनु, जथाभावी आवतजावत हुनु र परिसरमा रूखबिरुवाको व्यवस्थापन उचित नहुने जस्ता कारणले त्रिवि परिसर अव्यवस्थित देखिएको पनि प्राचार्य राई बताउँछन्। विभिन्न समयमा त्रिवि परिसरको सबैतर्फ पर्खाल लगाउनुपर्ने कुरा उठे पनि धेरै बजेट आवश्यक भएका कारण त्यतिकै सेलाएर जाने स्थिति छ। करोडौँ रुपैयाँ लाग्ने मोटामोटी अनुमान गरिए पनि यसका लागि प्राविधिक अध्ययन नभइसकेको कारण बजेट प्रस्ताव नगरिएको पनि उनले बताए। 

परिसरमा आफैँ उम्रिएका झाडीहरु समयमै फाँड्न नसक्दा चितुवाको लुक्ने स्थान र परिसरमा आएर गाँजा खानेहरुको थलो बन्ने जस्तो समस्या पनि त्रिविले भोग्दै आएको छ। गत वर्ष मात्र दुईपटक चितुवा नियन्त्रणमा लिएर वनजन्तुसम्बद्ध निकायलाई हस्तान्तरण गरिएको छ। यसै गरी बेवारिसे छाडिएका गोरुहरु त्रिवि परिसरभित्र दुर्घटना तथा चितुवा पल्काउने प्रमुख कारण बन्न पुगेका छन्। 

यस्ता समस्यालाई निराकरण गर्न झाडी फाँड्न सुुरु गरिए पनि ठूलो क्षेत्र भएका कारण काम नसकिएको पनि प्राचार्य राई बताउनुहुन्छ। लामो समयदेखि व्यवस्थित क्याप्टेरिया नहुनुको अप्ठ्यारो पनि त्रिविले व्यहोर्दै आएको छ। त्यसको समाधानका लागि क्याप्टेरिया निर्माणतर्फ पनि त्रिवि लागिपरेको जानकारी प्राचार्य राईले दिए। यसका लागि पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा रहेको त्रिविको आधिकारिक परामर्शदातृ विभाग अध्ययन गरिरहेको र प्रतिवेदन दिन बाँकी रहेको पनि उनले बताए। 

विसं २०२७ मा तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको क्याप्टेरियामा विद्यार्थीलाई प्रतिछाक रु तीनमा खान खुवाउने गरिन्थ्यो। चरम घाटामा गएको र प्रयास गर्दा पनि नसुध्रिएको भन्दै २०४८ सालमा तत्कालीन उपकुलपति केदारभक्त माथेमाले क्याप्टेरिया बन्द गराए। उक्त भवनमा अहिले निजी स्तरमा दुईवटा चिया खाजा पसल चलिरहेका छन्। 

'कोही प्रतिष्ठित अतिथि विश्वविद्यालय भ्रमणमा आएका बेला गुणस्तरीय र सुरक्षित ढङ्गले भोजन गराउने अवस्था नभएका कारण क्याप्टेरिया निर्माणको तयारी गरेका हौँ', उनले भने। विश्वविद्यालय परिसरको मुख्य स्थानमा सिसिटीभी क्यामेरा जडानको तयारी पनि प्राचार्य कार्यालयले थालेको छ। यसको परामर्शदाताका रुपमा त्रिविअन्तर्गतको आङ्गिक क्याम्पस पुल्चोकले काम गर्ने जनाइएको छ। सार्वजनिक शौचालय र पाँच सय जना अट्ने छात्रवासको निर्माण गर्ने योजना पनि त्रिविको छ।

प्रकाशित मिति: १६:४९ बजे, बुधबार, पुस २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्