जीवन्त अभिनयका निम्ति आफैँ पात्र बन्छन् कलाकार
उनीहरू ग्रामीण परिवेशदेखि सहरिया आवरणमा पनि आफूलाई प्रस्तुत गरिरहेका हुन्छन्। निर्देशक र लेखकद्वारा प्राप्त भूमिकालाई जीवन्त बनाउन उनीहरूले अपनाउने शैली भने फरक हुन्छ।
काठमाडौँ, पुस २३ ः चलचित्रमा अभिनेता, अभिनेत्रीका भूमिका वा पात्र फरकफरक देखिने गर्छन्। उनीहरू ग्रामीण परिवेशदेखि सहरिया आवरणमा पनि आफूलाई प्रस्तुत गरिरहेका हुन्छन्। निर्देशक र लेखकद्वारा प्राप्त भूमिकालाई जीवन्त बनाउन उनीहरूले अपनाउने शैली भने फरक हुन्छ। अभिनेता राजेश हमालले अभिनयमा तीन दशकभन्दा लामो समय बिताइसकेका छन्।
उनलाई ग्रामीण परिवेशदेखि सहरिया भूमिकामा दर्शकले रुचाएका छन् तर उनले बाल्यकालदेखि अभिनय सुरु गर्दा चलचित्रमा निर्वाह गर्ने भूमिकाको जीवनशैली बिताएका थिएनन्। यद्यपि उनले त्यसलाई कसरी खोजे अथवा बुझे? अभिनेता हमालले आफूले निर्वाह गरेको चरित्र वा पात्रको ठाउँमा उभ्याएर परिस्थिति र भोगाइ बुझ्ने क्षमता भए उक्त जीवन बाँच्नु नपर्ने बताए।
'दश दिन भोको मान्छेको भूमिका निर्वाह गर्दा मैले त्यसरी नै भोको बस्नुपर्दैन, तर मैले उक्त व्यक्तिको परिस्थिति बुझ्नुपर्छ। यही अनुभवमा मैले काम गरेँ, दर्शकले रुचाउनु पनि भयो', अभिनेता हमालले भने, 'मैले सुरुमा व्यक्तिहरू भेट्दा हाम्रै मान्छे हो भन्नुहुन्थ्यो। मेरो निर्वाह गरेको पात्रले मलाई उनीसँग नजिक बनाएको थियो।'
उनले सुरुवाती दिनमा किसान, मजदुरलगायत विभिन्न व्यक्ति वा वर्गको भूमिका निर्वाह गरे। त्यसलाई दर्शकले रुचाए तर अभिनेता हमालले उक्त जीवनशैली वास्तविक जीवनमा अनुभव गरेनन्।
यसमा नाटक हुँदै चलचित्रमा आउने अभिनेताको शैली भने फरक छ। गुरुकुल नाटकघरमा अभिनय सिक्ने क्रममा अभिनेता कमलमणि नेपाललगायतले भरियाको चरित्र निर्वाह गर्दा त्यसलाई बुझ्न प्रयोगात्मक शिक्षा नै लिएका थिए। अर्थात् भरिया बनेर बजारमा काम गरेर उक्त पात्रले महसुस गर्ने पीडा, बोल्ने शैली, सामाजिक व्यवहारका बारेमा जानकारी लिएका थिए।
अभिनेता प्रमोद अग्रहरि नाटकघर र चलचित्रमा व्यस्त कलाकार हुन्। उनले निर्वाह गर्ने भूमिका दर्शकले रुचाएका छन्। आफूले नभोगेको जीवनलाई पर्दामा प्रस्तुत गर्नु सहज नभएको उनले बताए।
'मैले जुन भूमिका चलचित्रमा निर्वाह गरेको छु, त्यो वास्तविक जीवन भन्दा धेरै फरक छ। म त्यसलाई लेखिएको पात्रमार्फत समाजमा खोज्ने गर्छु। समाजमा भेटिने त्यस्ता पात्रलाई पर्दामा प्रस्तुत गर्छु', अभिनेता अग्रहरिले भने। उनले पात्रमा अन्यको प्रभाव पर्ने डरले कम चलचित्र हेर्ने गरेको बताए।
मुख्यतः चलचित्रबाटै अभिनय प्रारम्भ गरेका र नाटकघर हुँदै चलचित्रमा अभिनय गरिरहेका अभिनेता वा अभिनेत्री पात्रलाई खोज्ने र पर्दामा प्रस्तुत गर्ने शैली भिन्न रहँदै आएको छ।












![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)