मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं, फागुन २७ : पश्चिमी वायुको प्रभावले मंगलबार देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहे....

काठमाडौं, फागुन २७ : पश्चिमी वायुको प्रभावले मंगलबार देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावले अपरान्हपछि पूर्वी तथा मध्य पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन्।
उक्त प्रणाली पश्चिमी भू–भागबाट प्रवेश गरेकाले यसको प्रभाव पश्चिमी भेगमा बढी पर्ने छ । 'बुधबारदेखि पश्चिमी भू–भागमा पश्चिमी वायु बढी सक्रिय हुनेछ', उनले भनिन्। हाल देशका केही पश्चिमी भू–भागलगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंसिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदली भई पश्चिमी तथा मध्य भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको औँल्याइएको छ। बिहीबार देशभर आंशिक बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम ताफक्रम ११ दशमलव नौ डिग्री र अधिकतम तापक्रम २४ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा धेरै धनगढी अधिकतम तापक्रम २८ दशकलव सात डिग्री सेल्सियस रहेको छ ।











