मेलम्ची आयोजना + सीएमसी कम्पनी = काठमाडौंवासी
काठमाडौं, फागुन १० : खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाबारे आफ्नो सूत्र सार्वजनिक गरेकी छन्– ‘मेलम्ची आयोजना + सीएमसी कम्पनी = काठम....
काठमाडौं, फागुन १० : खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाबारे आफ्नो सूत्र सार्वजनिक गरेकी छन्– ‘मेलम्ची आयोजना + सीएमसी कम्पनी = काठमाडौंबासी’ । प्रतिनिधिसभाको ‘प्रश्नोत्तर’ मा बोल्दै उनले यही सूत्र अपनाएर काम नगरेबापत पूर्वसचिव गजेन्द्र ठाकुरलाई सरुवा गरेको जानकारी दिइन् ।
‘मेलम्ची खानेपानी आयोजनाद्वारा वितरीत खानेपानी काठमाडौंबासीले कहिले पिउन पाउँछन् ?’ भन्ने सांसद् डिला संग्रौलाको प्रश्नको जवाफ दिँदै उनले भनिन्, “मैले सचिव ठाकुरलाई यो फर्मुला अनुसार काम गर्न निर्देशन दिएको थिएँ तर काम गरेको पाइनँ ।”
आफूविरुद्ध केही मिडियाले गलत प्रचार गरेको बताउँदै मन्त्री मगरले भनिन्, “मैले एक अर्ब खायो भनेर पनि प्रचार गरे तर मेरो कार्यकालमा जम्मा ८४ करोड १५ लाख रुपैयाँमात्र भुक्तानी भएको छ ।”
रोकिएको काम यथाशक्य छिटो सुचारु गरी काठमाडौंबासीलाई छिटो पानी खुवाउन आफू क्रियाशील रहेको बताउँदै उनले भनिन्, “सकेसम्म सीएमसी कम्पनीलाई नै काममा फर्काउने प्रयास मेरो पहिलो प्राथमिकता हो । सीएमसी फर्केमा स्थानीय ठेकेदारको भुक्तानी सहज हुन्छ, आयोजना पनि चाँडो सम्पन्न हुन्छ । ठेक्काको मान्यताभित्र रहेर काम गर्छ भने उसलाई स्वागत छ ।”
सीएमसी नफर्केमा पनि पुनः टेन्डर गरी काम सम्पन्न गर्नेबारे आफूले गृहकार्य गरिरहेको उनले बताइन् । उनले भनिन्, “पुनः बोलपत्र आह्वान गरी काम अघि बढाउने प्रयास पनि सँगसँगै गरिरहेका छौं । यो प्रक्रियाको पनि तयारी पूरा गरेका छौँ । यसबारे पनि अर्थ मन्त्रालयलाई जानकारी गराएका छौँ ।”
खानेपानी मन्त्री मगरले मेलम्ची आयोजनाको सफलता नै आफ्नो सफलतासँग जोडिएको बताउँदै भनिन्, “म यसमा गिद्दे नजर पर्न दिन्न ।”






