हिमालय एयरको दोहा उडान स्थगन
काठमाडौं, फागुन २७ : काठमाडौं-दोहा दैनिक उडान गर्दै आएको हिमालय एयरलाइन्सले साेमबारदेखि आफ्नो उडान स्थगन गरेको छ। काेराेना भाइरसकाे जाेखिम बढ्दै गएपछि....

काठमाडौं, फागुन २७ : काठमाडौं-दोहा दैनिक उडान गर्दै आएको हिमालय एयरलाइन्सले साेमबारदेखि आफ्नो उडान स्थगन गरेको छ। काेराेना भाइरसकाे जाेखिम बढ्दै गएपछि कतार सरकारले नेपालीलाई कतार प्रवेशमा राेक लगाएकाेले उडान स्थगन गरेकाे हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए।
कोरोना भाइरसकै कारण गत फेब्रुअरीदेखि हिमालय एयरले चीनका विभिन्न पाँच शहरको उडान स्थगन गरिसकेको छ। अन्तराष्ट्रिय उडान गर्दै आएको हिमालयको चीनसहित दोहाको उडानसमेत स्थगन गर्नुपरेको उनले बताए।
हिमालयले एयरबस ए–३२० सिरिजका १५८ सिट क्षमताका तीनवटा विमानबाट मलेसियाको क्वोलालम्पुर, साउदी अरबको दमाम, युएईको अबुदाबी, दुबइ, बंगलादेशको ढाकामा उडान गर्दै आएको छ।
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको हो।
पछिल्लो समय वैदेशिक रोजगारीको आर्कषक गन्तव्य बनेको कतारमा दैनिक ५ सयको हाराहारीमा नेपाली जाने गरेको वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कमल तामाङले बताए।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा एक लाख ६१ हजार, २०७४/०७५ मा एक लाख तीन हजार र २०७३/०७४ मा एक लाख २१ हजार नेपाली कतार गएको देखिन्छ।











