Kathmandu Press

कोशी प्रदेशका स्वास्थ्य स्वयंसेविकालाई ५ हजार प्रोत्साहन भत्ता

मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत् ल्याएको बजेटमा स्वास्थ्य स्वयंसेविकाहरुलाई ५ हजारका दरले प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको हो।
कोशी प्रदेशका स्वास्थ्य स्वयंसेविकालाई ५ हजार प्रोत्साहन भत्ता

मोरङ, पुस १९ : कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरु उत्साहित भएका छन्।

मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत् ल्याएको बजेटमा स्वास्थ्य स्वयंसेविकाहरुलाई ५ हजारका दरले प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको हो।

यसैगरी सरकारले जिल्ला र प्रदेशस्तरमा स्वयंसेविकाहरुलाई पुरस्कृत गर्ने योजना पनि बनाएको छ। नेपाल महिला स्वास्थ्य स्वयंसेविका संघ कोशी इन्चार्ज रत्ना रिजालले प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता र पुरस्कृत गर्ने व्यवस्थाले आफूहरु उत्साहित भएको बताइन्।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले रातदिन नभनी काम गरिरहेको दुःखलाई सम्झेर प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्था गरेकोमा उनले धन्यवाद दिइन्। यसले अझ जिम्मेवार भएर काम गर्न प्रेरित गर्ने उनको भनाइ छ।

संघकी केन्द्रीय सचिवसमेत रहेकी झापाकी महिला स्वास्थ्य स्वयंसेविका विमला प्रसाईंले प्रदेशभरिमा ६ हजार महिला स्वास्थ्य स्वयंसेविका महिलाले गर्भधारण गरेदेखि बच्चा हुर्कुञ्जेल स्वयंसेवा गर्दै आएको अवस्थामा प्रदेश सरकारले प्रोत्साहन भत्ताको व्यवस्था गरेर थप जिम्मेवार बनाइदिएको बताइन्।

मुख्यमन्त्री कार्कीले कोशीका १४ वटा जिल्लामा एक–एक जना र प्रदेशभरिबाट एकजना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्ने बताए।

कोरोना महामारीका बेला समेत घरघर पुगेर पीडितलाई हेर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवा महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रोत्साहन गर्ने नीति ल्याइएको बताए।

प्रकाशित मिति: ११:३८ बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्