बजार मागमा अपेक्षित सुधार हुन सकेन : सिएनआइ
सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८ दशमलव २८ प्रतिशतले ह्रास आएको थियो। यो चालु आवको सोही अवधिमा थप १२ दशमलव ०६ प्रतिशतले घटेको देखिएको छ।काठमाडौं, पुस १६ : निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसंघ (सिएनआइ) को एक अध्ययनले बजार मागमा सुधार हुन नसकेको देखाएको छ।
पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदै गएको र बजार चलायमान हुन थालेको सरकारले बताइरहेका बेला सिएनआइ यो अध्ययन सार्वजनिक भएको हो।
उपभोक्ता बजार मागमा देखिएको संकुचनमा अपेक्षित सुधार हुने नसकेको परिसंघको अध्ययनले देखाएको हो। परिसंघले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार समग्र बजार माग खस्किएको, कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको र उद्योगको कच्चा पदार्थको आयातमा गिरावट आएको देखिएको हो।
विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरी यो प्रतिवेदन तयार पारिएको परिसंघले जनाएको छ।
सोमबार एक औपचाकि कार्यक्रमकाबीच अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गत वर्षदेखि नै उद्योगी–व्यवसायीको मनोबल कमजोर बनिरहेकोमा यसवर्ष पनि यथावत रहेको बताए।
सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८ दशमलव २८ प्रतिशतले ह्रास आएको थियो। यो चालु आवको सोही अवधिमा थप १२ दशमलव ०६ प्रतिशतले घटेको देखिएको छ।
गतवर्षको तुलनामा चालु आर्थिक वर्षमा उद्योगहरूको समग्र मागमा ३६ दशमलव ९३ प्रतिशतले संकुचन आएको अध्ययनबाट देखिएको छ। उद्योगको कारोबार रकम गत आवको पहिलो त्रैमासमा २४ दशमलव ९४ प्रतिशतले घटेकोमा चालु आवको समान अवधिमा सात दशमलव ४६ प्रतिशतले घटेको देखिन्छ। अघिल्लो आवको तुलनामा यो ३० दशमलव ५४ प्रतिशतको संकुचन हो।
सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९ दशमलव ४४ प्रतिशत उद्योगी–व्यवसायीले आफ्नो लगानीका योजना स्थगित गरेको जनाएका थिए भने चालु आवको पहिलो त्रैमासमा ५५ दशमलव ३२ प्रतिशत उद्योगी व्यवसायीले आफ्ना लगानीका योजना स्थगित गरेको जनाएका छन् । यसबाट सरकारले दाबी गरे अनुसार अर्थतन्त्रको अवस्थामा सुधार नआएको परिसंघको बुझाइ छ।
परिसंघको अध्ययनअनुसार सिमेन्ट उत्पादक उद्योगको समग्र मागमा अघिल्लो वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा सात दशमलव ३६ प्रतिशतको सङ्कुचन आएको छ। पछिल्लो तीन वर्षमा सिमेन्टको समग्र मागमा ४४ दशमलव ५७ प्रतिशतले गिरावट आएको अध्ययनबाट देखिन्छ।