धरानमा कविशिरोमणिको जन्मजयन्ती

धरान, पुस १५ : कविशिरोमणि लेखनाथ पौड्यालको १४० औँ जन्मजयन्तीका अवसरमा धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणि पौड्यालको शालिकमा माल्यार्पण गरेर कविवरको जन्मजयन्ती मनाइएको छ।
कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेशका पूर्वप्रमुख प्रा.डा. गोविन्द सुब्बा तुम्बाहाङकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। नेपाली साहित्यको श्रीवृद्धिमा कवि पौड्यालले अतुलनीय योगदान गर्नुभएको उल्लेख गर्दै उहाँले कविवरको योगदान युवा पुस्ताले बिर्सन नहुने बताए।
कार्यक्रमका अतिथि प्रा डा टङ्कप्रसाद न्यौपानेले कविशिरोमणि पौड्याल जीवनकालमै रथयात्रा गरिएका पहिलो साहित्यकार भएकाे बताए। त्यस्तै अर्का अतिथि प्रा डा गोपाल भण्डारीले नेपाली साहित्याकासका उज्ज्वल नक्षत्र पौड्यालले अमर कृति एवं सार्वकालिक रचनाका कारण कविशिरोमणिको उपाधि पाएको बताए। उनका कवितामा मानव जीवनका विविध पक्ष समेटिएका उनले बताए। कार्यक्रममा प्रा डा खेम दाहाल, प्रा डा वंशीधर कट्टेलले कविशिरोमणिका विविध रचना वाचन गरेका थिए।
आयोजक संस्थाका अध्यक्ष सिद्धिकर्ण शर्माले हरेक वर्ष लेखनाथको सम्झनामा उनको योगदानको चर्चा गर्दै जन्मजयन्ती मनाउने गरिएको बताए। जन्मजयन्तीकै अवसरमा आगामी माघमा कविता प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए।











-(86)-1764936079.jpg)
