Kathmandu Press

हिमालयन एयरलाइन्सले जनवरी १ देखि काठमाडौं-ल्हासाकाे नियमित उडान भर्ने

हिमालयन एयरलाइन्सले जनवरी १ देखि काठमाडौं-ल्हासाकाे नियमित उडान भर्ने

काठमाडौं, पुस १२ : नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले काठमाडौं-ल्हासा-काठमाडौं उडान सेवा सुरु गरेको छ। एयरलाइन्सले आजबाट साे उडान सेवा सुरू गरेकाे हाे। एयरलाइन्सले यसलाई ऐतिहासिक सेवा विस्तार भनेकाे छ। नेपाल-चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्धन गर्ने प्रतिबद्धताका रुपमा पनि याे रहेकाे एयरलाइन्सकाे भनाइ छ।

चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर, ल्हासा उच्च हिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द्र हो। मनमोहक परिदृश्य र प्राचीन गुम्बाहरूका लागि परिचित ल्हासाले तिब्बती बौद्ध धर्म र तिब्बती संस्कृतिको केन्द्रका रूपमा गहिरो महत्व राख्छ। यस सहरको समृद्ध इतिहास र परम्पराहरूको अद्वितीय मिश्रणले यसलाई तिब्बतको आध्यात्मिक सम्पदा र प्राकृतिक सौन्दर्यको झलक हेर्न खोज्ने यात्रुहरूका लागि मनमोहक गन्तव्यका रूपमा प्रस्तुत गरेको छ। 

H9-28thDec2023--02001-1703753320.jpg

Hardik ivf

काठमाडौं-ल्हासा-काठमाडौंकाे नयाँ रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाडौं र ऐतिहासिक रूपले समृद्ध एवं रमणीय सहर ल्हासाका बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने विश्वास एयरलाइन्सले लिएकाे छ। पहिलो आउटबाउन्ड उडान एच९ ७७४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ः४० बजे प्रस्थान गरेको थियो र ल्हासा गोंगार विमानस्थलमा स्थानीय समयअनुसार मध्याह्न १२ गरेकाे जनाइएकाे छ।

एयरलाइन्सका अनुसार यस उडानको अवधि १ घण्टा २० मिनेटको छ। पहिलो उडानमा यात्रु संख्या १३६ थियो।  अंग्रेजी नयाँ वर्ष २०२४ काे जनवरी १ देखि नै एयरलाइन्स्ले हरेक सोमबार यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्नेछ। यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो पाँचौं सिधा उडान सेवा हुनेछ। एयरलाइन्स्ले यसअघि नै बेइजिङ, चोङकिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ।

उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किराँती प्रमुख अतिथि थिए। साथै चिनियाँ दूतावासका उपप्रमुख वाङ जिन र अन्य विशिष्ट व्यक्तिहरूलाई हिमालय एयरलाइन्स्का अध्यक्ष श्री झोउ एनयोङले उनीहरूलाइ स्वागत गरेका थिए।

सो अवसरमा आफ्नो मन्तव्य राख्दै मन्त्री किराँतीले भने, 'हिमालय एअरलाइन्स्ले काठमाडौं– ल्हासा–काठमाडौं उडान सेवाको सुरुवात गरेकोमा अत्यन्तै हर्षित भएको छु। यस नयाँ स्थापित मार्गले नेपाल र चीन बीचको यातायात नेटवर्कमा महत्त्वपूर्ण अग्रसर प्रस्तुत गर्दछ।'  त्यसैगरी वाङ जिनले भने, 'यो प्रथम उडान नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धहरूलाई ठुलो शक्ति दिने अवसरमा छ, जो सांस्कृतिक र संयोजन सम्बन्धहरूलाई थप नजिक गर्दै जानेछ।'

उनले नयाँ सुरु गरिएको रुटले नेपाल र चीनलाई जोड्ने यातायात सञ्जालमा महत्वपूर्ण प्रगतिको रूपमा प्रतिनिधित्व गरेको बताए। 'सारमा यस रुटले अरनिको राजमार्गले जोडेको विद्यमान नेपाल–चीन कनेक्टिभिटीलाई अझ व्यापक रूपमा बिस्तार गर्दछ,' उनले भने, 'यातायात पूर्वाधारमा भएको यो बिस्तारले पहुँचलाई बढावा दिने मात्र होइन, यसले नेपाल र चीनबीचको व्यापार, पर्यटन र समग्र द्विपक्षीय सम्बन्धका लागि फराकिलो र थप विविध नेटवर्कमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।'

H9-28thDec2023--02001-1703753320.jpg

हिमालय एअरलाइन्स्का प्रवक्तासमेत रहेका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले नयाँ रुटप्रति उत्साह व्यक्त गरे। उनले भने, 'हिमालयको मुख्य उद्देश्य चीनका १० वटा विभिन्न पर्यटकीय गन्तव्यमा उडान सञ्चालन गरी १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्नु हो। हिमालयले नेपालबाट चीनका लागि नयाँ–नयाँ रुटहरू पहिल्याउँदै उडान सेवा प्रदान गर्दै आएको छ। यस अर्थमा नयाँ बजार बिस्तार तथा स्थापित गर्न हाम्रो योगदान उल्लेखनीय रहेको छ।'

यस नयाँ रुटको सुरुवातसँगै हिमालयले उच्चतम सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको उनकाे भनाइ थियाे। 'हाम्रो यस उडानमा यात्रुहरूलाई स्वागत गर्न सदैव तत्पर छौँ र यो उडान हाम्रा समस्त यात्रुहरूलाई नेपाल र चीन दुवै देशका विविध सौन्दर्य तथा अवसरको अन्वेषणमा सहायकसिद्घ हुने अपेक्षा राख्दछौँ,' उनले भने।

यात्रुहरूले हिमालय एयरलाइन्स्को टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनरहरू र एयरलाइन्सकाे आधिकारिक वेबसाइट www.himalaya-airlines.com बाट काठमाडौं–ल्हासा–काठमाडौं उडानको टिकट बुक गर्न सक्नेछन्। 

प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्