बिजुलीको उज्यालो अब देशकै उज्यालो : प्रधानमन्त्री
आफू दोस्रोपटक प्रधानमन्त्री हुनु अघिसम्म देशमा १८ घन्टासम्मको लोडसेडिङलाई नियति मानिएको बताउँदै प्रधानमन्त्री दाहालले अहिले लगभग सिङ्गो देशमा विद्युतको पहुँच पुगेको बताए।काठमाडौं, पुस १० : प्रधानमन्त्री पुष्पकमल दाहाले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा मुलुक अघि बढेको बताएका छन्।
उनले उक्त विषय लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको पनि बताए । उर्जा क्षेत्रमा भएको क्रान्तिले मात्रै पनि लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको टिप्पणी उनले गरे।
आफू दोस्रोपटक प्रधानमन्त्री हुनु अघिसम्म देशमा १८ घन्टासम्मको लोडसेडिङलाई नियति मानिएको बताउँदै प्रधानमन्त्री दाहालले अहिले लगभग सिङ्गो देशमा विद्युतको पहुँच पुगेको बताए।
‘वर्षायाममा पनि विद्युत् आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ। विगत एक वर्षमा ७०० मेगावाटसम्म विद्युत् निर्यात गरी १५ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा आर्जन गरिएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१।२८ प्रतिशतले बढी हो । पाँच वर्षअघि यो अवस्थाको धेरैबाट कल्पना पनि गरिएको थिएन।’
एक वर्षमा मात्र करिव ५४१ मेगावाट थप भएको जानकारी पनि उनले दिए। ‘विगतका हिसाबले यो एक वर्ष करिब ८० वर्ष बराबर हो। तर, मैले यसमा सन्तोष मानेको छैन। मेरो विश्लेषणमा हामीसँग यस क्षेत्रमा भएको सम्भावनाको तुलनामा यो साह्रै सानो उपलब्धि हो,’ उनले संवोधनमा भने।
नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुन थालेको जानकारी पनि उनले दिए।
चीन भ्रमणको क्रममा नेपाल चीन जोड्ने चिलिमे–केरुङ २२० केभी प्रसारण लाइन अगाडि बढाउने सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो प्रसारण लाइन बन्ने बित्तिकै चीनसँग पनि विद्युत व्यापारको ढोका खुल्ने जानकारी दिए।