Kathmandu Press

भूकम्पपीडितका ११ हजार घर निर्माण

जाजरकोटमा पाँच हजार दुई सय दुई, रुकुमपश्चिममा पाँच हजार सात सय ९८, सल्यानमा एक सय ९३, बझाङमा १३ र बाजुरामा एक सय ३० घर निर्माण सम्पन्न भइसकेका छन्।
भूकम्पपीडितका ११ हजार घर निर्माण

काठमाडौं पुस १० : जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार  अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन्।

अहिले धमाधन अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। उनका अनुसार जाजरकोटमा पाँच हजार दुई सय दुई, रुकुमपश्चिममा पाँच हजार सात सय ९८, सल्यानमा एक सय ९३, बझाङमा १३ र बाजुरामा एक सय ३० घर निर्माण सम्पन्न भइसकेका छन्।

पोखरेलले आजसम्म केन्द्रबाट अस्थायी आवासका लागि दुई अर्ब २६ करोड रुपैयाँ जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइसकिएको जानकारी दिए। त्यसमध्ये एक अर्ब ५३ करोड रुपैयाँ जिल्लाबाट स्थानीय तहमा पुगिसकेको छ। स्थानीय तहबाट प्रक्रिया पुगेका लाभग्राहीको खातामा भने  ५८ करोड ७८ लाख रुपैयाँ पठाइसकिएको उनले बताए।

अहिलेसम्म जाजरकोटमा ३५ हजार एक सय ४०, रुकुमपश्चिममा २३ हजार छ सय आठ, सल्यानमा एक हजार सात सय ३०, बझाङमा चार हजार पाँच सय ७६ र बाजुरामा दुई हजार सात सय २९ गरी कुल ६७ हजार सात सय ८३ लाभग्राही कायम भएका छन्।

अझै झण्डै ५० हजार लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी रहेकाले त्यो काम जारी रहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताउनुभयो । उहाँका अनुसार सुरुमा अस्थायी आवासका लागि सेवा लिने लाभग्राहीको सङ्ख्या गति कम भए पनि अहिले भने बढिरहेको छ।

लाभग्राहीको पहिचान हुँदै गएकाले सङ्ख्या थपिँने क्रम बढेको भन्दै लाभग्राहीको सङ्ख्या ८० हजार पुग्ने अनुमान गरी सोहीअनुसार तयारी भइरहेको पाण्डेले जानकारी दिए।

उनका अनुसार ८० हजार लाभग्राही हुँदा उनीहरूको अस्थायी आवासका लागि चार अर्ब ७५ करोड रुपैयाँ लाग्ने भएकाले सोहीअनुसार बजेट व्यवस्थापनको तयारीमा प्राधिकरण लागेको छ। त्यसमध्ये दुई अर्ब २६ करोड रुपैयाँ पठाइसकिए पनि बाँकी रकमको जोहो गर्नुपर्ने उनको भनाइ थियो। -रासस

प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्