दुई हजार बालबालिकालाई निःशुल्क पढाइँदै

विराटनगर, पुस ९ : विराटनगर महानगरपालिका– १३, महतो टोलका कुन्दनकुमार महतो १४ वर्ष पुगे। शारीरिक रुपमा अशक्त महतोलाई स्कुल जान मन छ तर अरुको सहाराबिना हिँडडुल गर्न सक्दैनन्।
तीन चक्के बैशाखीको सहारामा हरेक दिन बेलुका ज्योति महतोको घर पुग्छन् र निःशुल्क ट्युसन पढेर फर्कन्छन्। निःशुल्क ट्युसन पढ्न थालेपछि कुन्दनलाई स्कुल जाने आँट आएको छ। ‘सरस्वती पूजामा स्कुलमा नाम लेखाउने, अनि स्कुल जान्छु,’ उनले भने, ‘यहाँ आएर पढ्न र लेख्न सिकेको छु।’
महतो टोलमा ज्योतिले ट्युसन पढाउन थालेको सात महिना भयो। जीवन विकास लघुवित्त वित्तीय संस्थाले निःशुल्क ट्युसन सेन्टर खोलेर महतोलाई शिक्षक नियुक्त गरेपछि टोलका विपन्न परिवारका बालबालिका भेला गरेर पढाउँन थालेकी हुन्। उनीसँग ४२ जना बालबालिका ट्युसन पढ्छन्।
विराटनगर १४ मा लक्ष्मण ठाकुर र विराटनगर १८ मा अमृताकुमारी साहले जीवन विकास लघुवित्त मार्फत ट्युसन पढाइरहेका छन्। विराटनगरमा मात्र नभई, लघुवित्तले ४४ वटा स्थानीय तहका ६० स्थानमा ट्युसन सेन्टर खोलेको छ, सेन्टरमा २ हजार ३२ हजार विपन्न परिवारका बालबालिका निःशुल्क पढिरहेका छन्। जसमा १ हजार ७४ छात्र र ९८४ छात्रा छन्। बालबालिकाको गुणस्तरीय शिक्षाको अभियानमा सहयोग गर्ने उद्देश्यले संस्थाले निःशुल्क ट्युसन सेन्टर सञ्चालन गरेको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले बताए।
‘शहरबजारका सम्पन्न परिवारका बालबालिका सुविधा सम्पन्न विद्यालय जान्छन्, विहान बेलुका बाबुआमाले आफ्ना छोराछोरीले गृहकार्य गरे नगरेको हेर्छन् र गराउँछन्,’ उनले भने, ‘विपन्न परिवारलाई दैनिक गुजाराको बन्दोबस्त जुटाउँदै ठिक्क हुन्छ, अधिकांशले बच्चाका बारेमा चासो लिएर गृहकार्य गराउने र सिकाई कस्तो छ भनेर मापन गर्न सक्दैनन् पनि।’
जीवन विकास लघुवित्तले करिब तीन वर्षअघि मोरङको डाइनिया निःशुल्क ट्युसन सेन्टर स्थापना गरेको थियो। ट्युसन सेन्टरका बारेमा प्रतिक्रिया राम्रो आएपछि अन्यत्र विस्तार गरेको हो। ‘डाइनियामा ट्युसन सेन्टर सुरु गरेपछि रेस्पोन्स राम्रो आयो, त्यसपछि विस्तार गर्ने निर्णय गर्यौं’ उनले भने, ‘विद्यालयबाट आएपछि बालबालिकाले नियमित पढ्न पाएका छन्, एउटा सेन्टरमा एक जनाका लागि सामान्य रोजगारी पनि सिर्जना भएको छ।’
ट्युसन पढाउनका लागि प्रत्येक सेन्टरमा एक जना शिक्षक तोकिएका छन्। एउटा सेन्टरमा न्यूनतम १५ देखि ४५ जनासम्म बालबालिका पढ्छन्। ती विद्यार्थीलाई आवश्यकताका आधारमा जीवन विकासले शैक्षिक सामग्री पनि उपलब्ध गराइरहेको छ।











-(86)-1764936079.jpg)
