जस्मिन पेन्ट्सका ३० वर्ष, सामान्य लगानीमा सुरू भएको उद्योगमा अर्ब बढी लगानी
चितवन भरतपुरका तीन दाजुभाई गुणनिधि अर्याल, लक्ष्मण अर्याल र मधुसुदन अर्यालले अवसरको खोजी गरिरहेका थिए । सुरूमा उनीहरूले कपडा धुने सर्फ, नेल पोलिस लगायत उत्पादन गरेपनि चित्तबुझ्दो व्यापार भएन ।काठमाडौं, पुस ८ : आजभन्दा करिब तीस वर्ष अगाडि नेपालमा भर्खर आधुनिक घरहरू निर्माण सुरू हुने प्रक्रिया बढ्दै थियो । सोही क्रममा रंगरोगनको माग पनि विस्तारै बढ्दै थियो।
चितवन भरतपुरका तीन दाजुभाई गुणनिधि अर्याल, लक्ष्मण अर्याल र मधुसुदन अर्यालले अवसरको खोजी गरिरहेका थिए । सुरूमा उनीहरूले कपडा धुने सर्फ, नेल पोलिस लगायत उत्पादन गरेपनि चित्तबुझ्दो व्यापार भएन।
५० को दशकको सुरूमै बढ्दो आधुनिक घर निर्माणको अवसर देखेर दाजुभाईहरू बीच रङको उद्योग सुरू गर्ने सल्लाह भयो। भरतपुरमै उद्योग स्थापना भयो । अपरेसन, मार्केटिङ र सप्लाईको काम दाजुभाइमा बाँडियो। समयको आवश्यकता, अर्याल दाजुभाइको टिमवर्क र मेहनतले पेन्ट्स उद्योगमा उनीहरू सफल हुँदै गए । जसकारण तीस वर्ष देखि अनवरत यात्रामा छ जस्मिन पेन्ट्स।
उद्योगको नेतृत्व गरिरहेका छन् लक्ष्मणले । सामान्य पारिवारिक पृष्ठभुमि अनि सामान्य लगानीबाट सुरू भएको जस्मिन पेन्ट्स अहिले स्वदेशी पेन्ट्स उद्योगको क्षेत्रमा उत्कृष्ट बन्न सफल भएको छ।
अर्यालका अनुसार, मुलुकभरका करिब ६० जिल्लाका १००० डिलरले जस्मिन पेन्ट्सको व्यापार प्रवर्द्धनमा सहयोग गरिरहेका छन्। अहिले उद्योगमा मात्रै २ सयभन्दा बढीले रोजगारी पाएका छन्।
उद्योगले हालै ताइवानको इन्नोभेसन टेक्नोलोजी पेन्ट्स कम्पनी लिमिटेडसँग टेक्नोलोजी कोल्याबोरेसन पार्टनरशीप समेत गरेको छ। भविष्यमा नवीन प्रविधि र उपभोक्ताको माग अनुसारको अझ उत्कृष्ट उत्पादनहरू बजारमा ल्याउने उद्योगको योजना छ ।
२०५१ बाट पेन्ट्स उत्पादन सुरू गरेको जस्मिनले विभिन्न माइलस्टोनहरू पार गर्दै नेपालकै नम्बर एक पेन्ट्स बन्न पुगेको कम्पनीका निर्देशक मधुसुदन अर्याल बताउँछन्। उनका अनुसार उद्योगमा अहिले अर्बभन्दा बढी लगानी पुगिसकेको छ।
यसबीचमा कम्पनीका उत्पादनले आईएसओ गुणस्तर चिह्न ९००१, २००० सर्टिफिकेसन पाइसकेको छ। यस्तै जस्मिन पेन्ट्सले सन् २०१८ मा ‘इन्टरनेसनल बिआईडी क्वालिटी अचिभमेन्ट गोल्ड अवार्ड लण्डन’ र नेपाल बेस्ट ब्राण्ड लिडरशीप अवार्ड २०१८ पाइसकेको छ।
साथै भरतपुर महानगरपालिकाले त्यस क्षेत्रकै उत्कृष्ट उद्योग तथा उत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ ।
वार्षिकोत्सवका अवसरमा उद्योगले रक्तदान तथा विभिन्न सहयोग लगायतका सामाजिक काम गरिने अर्यालले जानकारी दिए ।