विद्युत लाइसेन्स कब्जा गर्नेको दर्ता खारेज गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, मंसिर ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलविद्युत् आयोजनाको लाइसेन्समा कब्जा जमाउने प्रवृत्तीमाथि रोक लगाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन्। लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज गर्न मौखिक निर्देशन दिइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकका क्रममा प्रधानमन्त्री प्रचण्डले विहीबार यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले विद्युतको बक्यौता नतिर्ने ठुलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्ने समेत बताए।
समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा छ। लाइसेन्स लिने, होल्ड गरेर राख्ने तर काम नगर्ने कुरा देशका लागि घातक छ। निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गर्नुपर्छ। त्यो काम गर्नुस्।’ प्रधानमन्त्रीले आफू नेतृत्वको सरकार गठनको एक वर्ष पुग्न लागेकाले नयाँ ढंगबाट सोचिरहेको समेत बताएका थिए। आफुले कार्यशैली परिवर्तन गर्न लागेको पनि उनले बताए।
‘देश र जनताका लागि दृढ भएर अगाडि बढ्नेतिर सोच्नुस्। हामीले राम्रो काम गर्दै गएपछि नराम्रो उद्देश्य बोकेकाहरू पर्दाफास हुन्छन्। त्यसरी काम गरौँ,’ वैठकमा प्रधानमन्त्री प्रचण्डले भने।