Kathmandu Press

भूकम्प प्रभावित जिल्लामा दादुरा र टाइफाइडविरुद्धको खोप दिइने

भूकम्प प्रभावित जिल्लामा दादुरा र टाइफाइडविरुद्धको खोप दिइने

काठमाडौं, पुस ४ : सरकारले भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भूकम्प प्रभावित जिल्लामा बिहीबारदेखि दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।

Hardik ivf

उनका अनुसार दादुराविरुद्धको खोप भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा तथा टाइफाइडविरुद्धको खोप ती दुई जिल्ला जाजरकोट र पश्चिम रुकुमसहित सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जुम्लामा सञ्चालन गरिनेछ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुवेलाविरुद्धको खोप छ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई र टाइफाइडविरुद्धको खोप १६ वर्षदेखि ४५ वर्षसम्मका सबैलाई लगाइनेछ।

उनले जाजरकोटमा दुई वर्षअघि दादुरा देखिएकाले पुनः नदेखियोस् भनेर खोप लगाउन थालिएको बताए। 'भूकम्पपछि महामारी हुनसक्ने सम्भावना रहन्छ, तीमध्ये सबैभन्दा बढी दादुरा–रुवेला र टाइफाइड हुनसक्ने सम्भावना रहन्छ', उनले भने, 'ती ठाउँका बालबालिकामा पोषण पनि कम भएको होला, दूषित पानी पनि खाएका होलान्, त्यसैले हामीले दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दैछौँ।'

छ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार र १६ वर्षदेखि ४५ वर्षसम्मको सङ्ख्या छ लाख ५० हजार रहेको छ। खोप अभियान यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्