युवकको मृत्यु भएको विषयलाई लिएर निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द
बारा, मंसिर ३० : बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ। बाराको सिम्रौनगढ नगरपालिकामा बुधबार भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर आज (शनिबार) राजमार्ग बन्द गरिएको हो।
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका १ ननसगराढाट गाउँका २५ वर्षीय लक्ष्मी मुखियाको मृत्यु भएको थियो। मुखियाका आफ्न्त र स्थानीयले आन्दोलनलाई निरन्तरता दिँदै राजमार्ग अवरुद्ध गरेका हुन्। उनीहरूले टायर बालेर नाराबाजी पनि गरेका छन्।
गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत दिनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी राजमार्ग बन्द गराइएको हो।
मृतक मुखियाको शव हाल वीरगञ्जको नारायणी अस्पतालमा छ। न शव परीक्षण भएको छ, न आफन्तले शव बुझेका छन्।