किन टिक्दैनन् बैतडीका स्थानीय तहमा हाकिम?
-1702720905.jpg)
काठमाडौं, मंसिर ३० : सुदूर पश्चिमको दुर्गम पहाडी जिल्ला बैतडीका पाँच स्थानीय निकाय प्रशासन प्रमुख नहुँदा सेवा प्रवाह गर्न असमर्थ देखिएका छन्। प्रशासनको नेतृत्व नहुँदा स्थानीय निकायले दिने नियमित सेवा अवरुद्ध भएकाले गाउँ र नगरपालिकाहरुका प्राय कामहरु ठप्प जस्तै भएको स्थानीय प्रतिनिधिहरु बताउँछन्।
स्थानीय सरकार आएको ६ बर्ष बितेपनि कर्मचारी व्यवस्थापन र स्थिरता नहूँदा बिकासले गति पाउन सकेको छैन्। स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत पाउँनै मुस्किल हुने, सरुवा भएर आएकाहरु समेत लामो समयसम्म टिक्न नसक्दा बैतडीका ५ पालिकाहरु अहिले पनि प्रशासकीय अधिकृत विहिन बनेका छन्।
बैतडीमा प्रमुख प्रशासकीय अधिकृतहरु फेरिएका छन्। सामान्यतया कर्मचारी एक देखि दुई वर्ष एउटै क्षेत्रमा बस्नुपर्ने हो। अझै भन्नुपर्दा स्थानीय सरकारलाई मजबुद र सञ्चालनको लागि कर्मचारीको सहयोग हुनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीको सरुवा चाडो चाडो हुँदा जनताले सेवा अनुभूति गर्न नसकेको बैतडीका स्थानीयहरुले बताउने गरेका छन्।
योजना तथा कार्यक्रम कार्यान्वयन, आर्थिक कारोवार र प्रशासन सञ्चालनमा नेतृत्वदायी भूमिकामा अहिले पनि प्रमुख प्रशासकीय अधिकृत नै गरिरहेका छन्। तर जनप्रतिनिधिले भने केही गर्न सकिरहेका छैनन्। अधिकार कर्मचारीमा मात्र निहित छ।
अहिले बैतडीका ५ ओटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाजमा समस्या भएको छ। पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका,सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको हो। दुर्गममा गएर काम गर्न नचाहने कर्मचारीको प्रवृतिले विकासमा अबरोध त भइरहेको छ नै जनप्रतिनिधिहरुको समेत गुनासो बढ्दै गएको छ।
बैतडी जिल्लाका दश वटा स्थानीय तहमा यो बर्षको अवधिमा मात्रै एकदर्जन प्रमुख प्रशासकीय अधिकृतहरु फेरीएका छन्। सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई जिम्मेवारी दिएको भएपनि एकै जनाले तीन पालिकामा काम गर्न समस्या भइरहेको बताइएको छ।
फेरिएका कतिपय प्रशासकीय अधिकृत कर्मचारीहरु सम्बन्धित पालिका नपुगेरै बाटोबाटै सरुवा भएर हिँडेका छन्। कतिपय स्थानीय तहमा हाजिर भएको एक दुई महिनामै प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएका छन्। कर्मचारी पालिका क्षेत्रमा नपुग्दा दैनिक कामकाजमा समेत समस्या भएको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाशले बताए।
स्थानीय सरकार चलाउनुपर्ने ठाउँमा कर्मचारी नहुँदा योजना कार्यान्वयनमा जहिल्यै ढिलो हुने गरेको अध्यक्ष जोशीको भनाई छ। डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएका रञ्जय पटेलको हाजिर भएको ८ दिनमै मन्त्रालयले सरुवा गरेको थियो। गत असोज ८ गते पालिकामा हाजिर भएका पटेलको असोज १६ मै सरुवा भएको थियो। त्यसयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ।
यस्तै पुर्चौंडी नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन छ। गत असोज २५ गते प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टको सरुवा भएपछि अहिले सम्म मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको छैन्। यस्तै सिगास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्। सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले नै सिगास पनि हेरीरहेका छन्। उनले तीनओटा पालिकाको जिम्मेवारी पाएकाले समस्या भइरहेको छ।
यसैगरी जिल्लाको मेलौली नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ। प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीलाई दुई महिनाको जिम्मेवारी दिएकोमा यही मंसिर १७ गते उनको जिम्मेवारी सकिएको थियो। त्यसयता मन्त्रालयले कसैलाई जिम्मेवारी पनि तोकेको छैन् भने नयाँ प्रमुख प्रशासकीय अधिकृत पनि पठाएको छैन्।
यस्तै , जिल्लाको दोगडाकेदार गाउँपालिका पनि तत्कालका लागि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ। दोगडाकेदार गाउँपालिकामा गत भदौ १८ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रप्रसाद थारुको पनि ३ महिनामै सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको हो।
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले पठाउने गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमा प्रमुख प्रशासकीय अधिकृत नपठाउने र पठाएकाहरुको पनि मनलाग्दी सरुवा गर्दा दैनिक सेवा प्रवाहमा समस्या हुने गरेको बैतडीका स्थानीय तहहरुले जानकारी दिएका छन्।