धरान घटना : शरीर अर्को झोलामा भेटियो, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन
घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएपछि ती व्यक्तिको शरीर पनि जेब्रा झोलाभित्रै भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले काठमाडौं प्रेसलाई जानकारी दिए।
काठमाडौं, फागुन ५ : बुधबार धरान–भेडेटार सडकखण्ड अन्तर्गत आँपगाछी जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो । घाँस दाउरा गर्न जंगल गएका स्थानीयले झोलाभित्र मानिसको टाउको र खुट्टा भेटेपछि प्रहरीलाई खबर गरेको थियो।
खबर प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय धरानको टोली घटनास्थलमा पुग्यो । सूचनाअनुसार जेब्रा झोलाभित्र मानिसको काटिएको टाउको र खुट्टा भेट्टायो। प्रहरी तत्काल थप अनुसन्धानमा जुट्यो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट झोलामा भेटिएको शव करिब ३५/४० वर्षका पुरुषको हुनसक्ने अनुमान गरिएको थियो। ‘सडेको अवस्थामा भेटिएको कारण तत्काल अन्दाज गर्न सकिएन,’ अनुसन्धानमा खटिएका एक प्रहरीले काठमाडौं प्रेससँग भने।
टाउको र खुट्टामात्र भेटिएपछि प्रहरीले शरीर खोजीको अपरेसन चलायो। तर, बुधबार अबेर भइसकेका कारण अन्य अंगहरु भने भेटाउन सकेन।
एक किलोमिटर क्षेत्रभित्र अर्कै झोलामा भेटियो शरीर
बिहीबारको अपरेशनबाट प्रहरीले हत्या भएको व्यक्तिको शरीर पनि फेला पार्यो। घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएपछि ती व्यक्तिको शरीर पनि जेब्रा झोलाभित्रै भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले काठमाडौं प्रेसलाई जानकारी दिए। ‘टाउको र खुट्टा भेटिएको एक किलोमिटर भित्र शरीर पनि झोलामै रहेको अवस्थामा फेला परेको छ,’ डिएसपी कुवँरले भने।
उनका अनुसार घटनापछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक विज्ञको टोली बोलाएर शवको पहिचान र थप अनुसन्धानको कार्य अगाडि बढाइएको छ। ‘सबैभन्दा पहिलो काम हत्या भएका व्यक्तिको शव पहिचान गर्नु हो, हामी त्यसमा केन्द्रीत भई घटनाको थप अनुसन्धान गर्दै छौं,’ डिएसपी कुवँरले भने।
पहिचान खोज्न छिमेकी जिल्लासँग समन्वय
प्रहरीले तीनचार दिन अघि मात्रै हत्या भएको अनुमान गरेपनि शवको अवस्था हेर्दा करिब १०/१२ दिन अघि नै घटना भएको फरेन्सिक विज्ञहरुको अनुमान छ। ‘शव सडेर कालो भइसकेकाे अवस्था छ, धेरै दिनअघि हत्या हुनसक्ने अनुमान छ,’ इलाका प्रहरी कार्यालय धरानका एक प्रहरीले भने।
डिएसपी कुवँरले शवको पहिचान खोल्नका लागि जिल्लाबाट हराएका व्यक्तिबारे अनुसन्धान गर्ने काम सुरु भएको बताए। ‘जिल्लाभित्र र छिमेकी जिल्लाका ‘मिसिङ केस’ बारे अध्ययन गर्ने र अन्य जिल्ला प्रहरी कार्यालयसंग समन्वय गरेर व्यक्तिको पहिचान खुलाउने प्रयास भइरहेको छ,’ उनले भने।
पहिचान खुलेपछि घटनाको अनुसन्धानमा सहज हुने प्रहरीको भनाई छ। पहिचान खुलेपछि हत्या प्रकरण र त्यसमा जोडिएका व्यक्तिहरुबाट अनुसन्धान हुने डिएसपी कुवँरले बताए।
सम्बन्धित समाचार
धरानमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो











