Kathmandu Press

महिला हिंसाविरुद्ध नेपालगञ्‍ज-काठमाडौं पैदल मार्च : चरम यातनापछि मारिएका महिलालाई न्यायको खोजी

बाँके जानकी गाउँपालिकाकी नन्कुन्‍नी धोबी र परस्पुरकी एकल महिला निर्मला कुर्मीको शंकास्पद मृत्युमा स्थानीय प्रहरी र प्रशासनले चासो नदिएको र देशभर दिनानुदिन बढ्दो महिला हिंसाविरुद्ध विरोधमा बाँकेका महिलाहरूको समूह यतिबेला काठमाडौंमा आन्दोलनमा छ।
महिला हिंसाविरुद्ध नेपालगञ्‍ज-काठमाडौं पैदल मार्च : चरम यातनापछि मारिएका महिलालाई न्यायको खोजी

बेचिएको छ न्याय, कुल्चिएको छ सत्य
ध्वस्त गरिएको छ प्रकृतिको महान महत्ता
जालझेलमा सञ्‍चित छ स्वर्णराशि
ध्वंसको सिंहासनमा बसेर चर्कोसँग चिच्याऊ 
तिम्रो देशको श्राप तिमीमाथि छ

यो कवितांश बेलायती कवि पर्सी बिस सेलीको हो। कविताको आशय हो- अन्यायमा परेकै व्यक्तिले न्यायको औचित्य बुझेको हुन्छ।

राज्यबाट सधैँ पछाडि पारिएका समुदाय जब-जब आफ्नो हक अधिकारका लागि बोल्छन्, एक प्रकारको तहल्का मच्चिन्छ। ‘न्याय मे इतना विलम्ब नहीँ होना चाहिए कि वह अन्याय लगने लगे’ भारतीय कवि पासको यो भनाइ र अहिलेको सन्दर्भ मिल्दोजुल्दो छ। महिलामाथिको हिंसा र अन्यायविरुद्ध आवाज उठाउन नेपालगन्जदेखि २० दिनको पैदल यात्रा गरेर काठमाडौं आएका ११ महिला र तीन पुरुषको टोली यतिबेला माइतीघर मण्डलामा आन्दोलनमा छन्। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर हिरासतमा पुर्‍यायो। मानौँ उनीहरूले पो राज्यमाथि ठूलै अन्याय गरे।

अन्यायविरुद्ध नेपालगञ्‍ज-काठमाडौं मार्च

न्यायका लागि कतिसम्म कटिबद्ध हुन सकिन्छ भन्‍ने उदाहरण हुन्, महिला अधिकारकर्मी रुबी खातुन। उनीसहितका ११ महिला र तीन पुरुषको यो टोली नेपालगञ्‍जदेखि करिब पाँच सय किलोमिटर पैदल यात्रा गर्दै काठमाडौं आएको छ।

काठमाडौं सहर आफैँमा हल्लाखोर छ, यहाँका हरेक गल्ली अहिले दसैंको माहोलमा छन्। खुला थियो त केवल माइतीघर मण्डला। त्यसैले उनीहरूले अन्यायविरुद्ध आवाज उठाउने थलो माइतीघर मण्डलालाई नै रोजे।

सादा पोशाकका प्रहरीको ध्यान यो टोलीमाथि केन्द्रित हुनु स्वाभाविक थियो- को को भेट्न आए, के कुरा गरे। टोली नेता रुबी कहाँ कोसँग के कुरा गर्छिन् भन्‍ने निगरानीमा लाग्छ प्रहरी टोली। दिउँसोको चर्को घाममा छहारी खोजिरहेका महिलाहरू घाम अस्ताउने क्रमसँगै आनन्द महसुस गर्दै थिए। अपराह्न ४ बजेपछि मन्दमन्द बतासले २० दिनसम्म घिसिएका खुट्टालाई केही राहत मिलेको थियो।

चप्पलले डसेका घाउ, पैताला र कुर्कुच्चामा निस्केका फोका, अनुहारमा छचल्किएको थकान अनि प्रश्‍नका खातहरू। ११ जना महिलामध्ये केही हजुरआमा बनिसकेका छन् भने केही भर्खरै २० वर्ष टेकेका। उनीहरूमध्ये कतिपयले पहिलोपटक संघीय राजधानी काठमाडौं टेकेका छन्।

काठमाडौं आएर उनीहरूले माइतीघर मण्डलाको दक्षिणतर्फ झोला बिसाएका थिए। उनीहरूको टोलीलाई देखेपछि नागरिक आन्दोलनका केही अभियन्ताले चटाइ र पालको व्यवस्था मिलाए। २० दिनसम्म निरन्तर हिँडाइबाट थकित टोलीले झोलामा टाउको अड्याएर बस्‍न पाए, केही सुबिस्तासँग।

पानी र चिउरा नै ताकत

खातुना निसावेहना (४० वर्ष) दुई छोरा र एक छोरीलाई घरको जिम्मा लगाएर न्यायका लागि २० दिनको यात्रामा हिँडेकी हुन्। उनका श्रीमान् मिस्त्रीको काम गर्छन् भने खातुना महिला मञ्‍चमा छिन्। बाटोमा आउँदाका दुःख सम्झनै मन नलाग्ने खातुना बताउँछिन्। २० दिनसम्म निरन्तर पैदल यात्रा गर्दाको क्षण सम्झँदा उनलाई कहाली लाग्छ। आफ्नै देशमा न्यायका लागि यतिसम्म गर्नुपर्ने उनले सोचेकी थिइनन्।

‘मान्छे हौँ शरीरलाई पीडा त हुन्छ नै। तर, जुन कारणको लागि यो संघर्ष गर्नुपर्‍यो, त्यसले झन् पीडा दिन्छ,’ उनले भनिन्। निरन्तर हिँडाइका कारण लखतरान परेको शरीर, कुन बेला कहाँ गएर बिसाउने कुनै गन्तव्य थिएन। बिहान आँखा खुलेपछि हिँड्न सुरु गर्थे। जहाँ पानी हुन्थ्यो, सडकको पेटी, पाली जहाँ भेट्यो, त्यहीँ शरीरलाई साँझ बिसाउँथे।

यात्राका दौरान मनकारी केहीले मद्दत गरे, रुबी आफैँले पनि खर्चको जोहो गरिन्। तर, उनीहरूले आफ्नो खानाको पोको आफैँ बोकेर आएका छन्। चिउरा, दालमोठ, चाउचाउ, कसैले सहयोग गरे आक्कलझुक्कल दातभात, रोटी खान्थे। ‘भरपेट चिउरा दालमोठ र पानी खान पाए शरीरमा अझ शक्ति थपिन्छ कि भन्‍ने लाग्थ्यो तर सधैँ भरपेट खान कहाँ पुग्थ्यो र ?’ रुबीले भनिन्।  भोको पेट, शिथिल शरीर र पैतालाका घाउको पीडा सहिनसक्नु थियो। तर, हिंसाका कारण मारिएका महिलाका चित्कारले त्योभन्दा बेसी पिरोल्थ्यो। ‘शरीरलाई कष्‍ट त किन हुँदैनथ्यो र तर पनि न्यायका लागि हरेक कष्‍ट सह्यौँ,’ उनले भनिन्।

‘न्याय मागा आवगय दिदी, महिलानके’

माइतीघरनजिक लखतरान अवस्थामा भेटिएका महिलाको हरेक संवादमा ‘न्याय मागा आवगय दिदी, महिलानके’ शब्द दोहोरिन्छ। भोकै, प्यासै दुःख पाएर बस्‍न कसैलाई रहर नभएको र न्यायका लागि यतिसम्म सहनु परेको रुबीले बताइन्। हातमा लठ्ठी लिएर लगातार २० दिनको यात्रामा हिँड्दा शारीरिक पीडा भएको खातुनाले बताइन्। ‘हमको बस न्याय चाहिए,’ उनले भनिन्।

सकिना तेली बाँके महिला मञ्‍चमा कार्यरत छिन्। महिला हिंसाविरुद्ध यसरी पैदल यात्रा गरेर राजधानी आएको पहिलोपटक भएको उनले बताइन्। अधिकारकर्मी, सञ्‍चार माध्यमलगायत नागरिक अभियन्ताको सहयोगले ऊर्जा थपिएको छ, उनीहरूमा। तथापि, सरोकारवाला निकायले कुनै चासो नदिएको उनीहरूको गुनासो छ।

‘यो अभियान बाँकेमा मात्र भएका महिला हिंसाविरुद्ध होइन, ७७ वटै जिल्लामा महिलामाथि हुने हिंसाविरुद्ध हो, न्यायका खातिर हो,’ रुबीले भनिन्। बलात्कार गरेर हत्या गरिएका अवोध बालिकाहरूदेखि घरेलु हिंसा, दाइजोको नाममा गरिएका हिंसामा मारिएका महिलाले न्याय पाउनुपर्छ भन्‍ने मुख्य ध्येय रहेको उनले बताइन्। महिलामाथि भए-गरेका हिंसाविरुद्ध महिलाले काठमाडौंसम्म मार्च गर्न सक्छन् भन्‍ने सन्देश दिएका हुन्, उनीहरूले।

‘आफ्नो घर, गाउँ र जिल्लामा भएका हिंसाविरुद्ध काठमाडौं पुगेरै आवाज किन नउठाउने ?’ रुबी प्रश्‍न गर्छिन्। नेपालगञ्‍जस्थित जिल्ला प्रशासन, बाँके अघिल्तिर १९ दिनसम्म धर्ना बस्दा पनि मुद्दाउपर कुनै सुनुवाइ नभएपछि यो अभियान सुरु गर्न बाध्य भएको उनी बताउँछिन्।

‘नन्कुन्‍नी धोबी’को के कसुर ?

५ साउन ०७८ मा बाँके जानकी गाउँपालिकास्थित घरमा झुण्डिएको अवस्थामा एक महिलाको शव भेटियो। त्यो शव नन्कुन्‍नी धोबीको थियो। श्रीमान् रामकुमारबाट पटक-पटक घरेलु हिंसामा परेकी नन्कुन्‍नीको पीडा गाउँले, छरछिमेकी र माइतीसम्मलाई जानकारी थियो।

धेरैपटक मृत्युको मुखबाट बाँचेकी नन्कुन्‍नीले आफूले सहनुपरेको हिंसाको विषयमा ७ असारमा महिला अधिकार मञ्‍चमा बताएकी थिइन्। आफू बाँच्न चाहने तर श्रीमानले घरिघरि मार्ने कोशिस गरेको उनले बताएकी थिइन्। आफ्नो ज्यानको सुरक्षाका लागि उनले निवेदन दिएको सकिना तेलीले बताइन्। ‘म मर्न चाहन्‍नँ तर म मरे भने मेरै श्रीमानले मारेको हो भन्‍ने बुझ्नु भनी हामीलाई भनेकी थिइन्,’ उनले भनिन्।

नन्कुन्‍नीले महिला अधिकार मञ्‍चमा आफ्नो समस्या राखेपछि त्यसबारे प्रहरीलाई खबर गरिएको थियो। महिला हिंसाविरुद्धको उक्त उजुरीमाथि बारम्बार प्रहरीलाई घचघच्याइयो। नन्कुन्‍नी र उनका श्रीमान राजकुमारबीच घरमै गएर मिलापत्र पनि गराइयो। नन्कुन्‍नी धोबीका सन्तान थिएनन्। उनका श्रीमान रामकुमार पहिलेदेखि नै आपराधिक ढंगले उनीमाथि कुटपिट गर्थे।

बिट्टा धोबी (४५ वर्ष) नन्कुन्‍नीकी जेठी दिदी हुन्। उनीसँग नन्कुन्‍नीको न्यायका लागि बहिनी पनि सँगै आएकी छन्। नन्कुन्‍नीसँग विवाहअघि नै रामकुमारीले दुईवटी श्रीमती भित्र्याइसकेका रहेछन्, जुन बिहेपछि मात्र जानकारी भयो।

बिट्टा धोबीले भनिन्, ‘नन्कुन्‍नी त तेस्री श्रीमती रहिछिन्, मेरी बहिनीभन्दा पहिला दुईवटा विवाह भइसकेको रहेछ।’ नन्कुन्‍नीभन्दा अघिका दुई श्रीमतीमाथि पनि रामकुमारले हिंसा गर्ने गरेको खुलेको छ। ‘पहिलो श्रीमतीलाई मट्टीतेल हालेर जलायो, दोस्रो श्रीमतीलाई धेरै कुटेर घाइते बनाएपछि घर छोडेर गइन्,’ बिट्टाले भनिन्, ‘झुटो बोलेर बिहे गरेको मेरो बहिनी नन्कुन्‍नीलाई पनि झुण्ड्याएर मार्‍यो।’ नन्कुन्‍नीको सन्तान नभएपछि राजकुमारले मानसिक र शारीरिक यातना दिएको उनले बताइन्। माइतीपक्षले मार्छ भनेर माइत ल्याउँदा पनि काम गर्ने मान्छे कोही छैन भन्दै फोनमार्फत फकाएर बोलाएका थिए, रामकुमारले।

नन्कुन्‍नीका सन्तान थिएनन्, त्यही विषयमा भएको झगडाले नन्कुन्‍नीको मृत्यु भएको उनले बताइन्। उनले भनिन्, ‘मेरो बहिनी आफैँ झुण्डिएर मर्ने मान्छे होइन, हिंसा सहँदा-सहँदा बाँच्नका लागि मजबुत भइसकेकी थिई। तर, पापी अपराधिले झुण्ड्याएरै मार्‍यो।’ नन्कुन्‍नीलाई झुण्ड्याएको ठाउँमा वरपर टेकेर घाँटीमा पासो लगाउने कुनै वस्तु थिएन, कोठाभित्र रहेका दुईवटै ढोका भित्रबाट चुकुल लगाइएको उनले बताइन्। चुकुल लगाए पनि कोठाबाट बाहिर निस्किने झ्याल रहेको उनले बताइन्।

उनलाई झुण्ड्याइएको निकै शंकास्पद देखिएको नन्कुन्‍नीका दिदीका छोरा राहुल शेख (२४ वर्ष) ले बताए। नन्कुन्‍नीको शव हेर्दा कुटपिट गरेर झुण्ड्याइएको शंका रहेको उनको दाबी छ। ‘उहाँको नाक, कान र मुखबाट रगत बगेको थियो, अनुहार र घाँटीमा पिटेको डोब थियो,’ उनले भने। नन्कुन्‍नीको घटना आत्महत्या हुनै नसक्ने उनको दाबी छ। उनका श्रीमान् र जेठाजु मिलेर हत्या गरेको दाबी नन्कुनीको माइती पक्षले गर्दै आएको छ।

नन्कुन्‍नीको हत्याबारे अनुसन्धान नगरी बाँके प्रहरीले बेवास्ता गरेको उनको आरोप छ। ‘मुचुल्का उठाउँदा हामी सबैले प्रत्यक्ष देखेका थियौँ तर प्रहरीले सीधै आत्महत्या भनी भनिदियो,’ उनले भने, ‘नन्कुन्‍नीका बुवालाई मुचुल्कामा जबर्जस्ती औंठा छाप लगाइयो, उहाँले नमानेर मुठ्ठी कस्‍नुभएको थियो तर धम्क्याउँदै मुठ्ठी खोलेर औंठा छाप लगाए।’ आफूहरूले प्रहरीले न्यायको पक्षमा लड्छ भनेको सुनेको तर न्याय त गरिब र इमानदारका लागि नरहेको यस घटनाबाट पुष्‍टि हुने उनी बताउँछन्।

‘झरी, धुलो, हिलो, जंगलको बाटो छिचोल्दै ज्यानको बाजी राखेर नेपालगञ्‍जबाट काठमाडौं आउन कसलाई रहर हो र ?’ उनी प्रश्‍न गर्छन्। माइतीघर मण्डलमा प्रहरीले समेत बस्‍न नदिएको उनको गुनासो छ। ‘माथिको आदेश र माथिका मान्छेले के अन्यायमा परेकालाई मात्र उठाउने र हटाउने काम गर्छन् ? किन अपराधीलाई उठाउन र सजाय दिन आदेश दिँदैनन् ?’ उनी प्रश्‍न गर्छन्।

निर्मला कुर्मी कसरी मारिइन् ?

बाँके परस्पुरकी एकल महिला निर्मला कुर्मी ०७६ सालमा गायब भइन्। १६ मंसिर ०७६ मा स्थानीय बासिन्दाले प्रहरीमा किटानी जाहेरी दिए। तर, प्रहरीले कुनै चासो दिएन। बारम्बार प्रहरीमा अनुरोध गर्दा पनि कुनै अनुसन्धान, खोजखबर भएन। बरु निर्मला कुर्मीको मृत्यु भइसक्यो भन्‍ने खबर आयो। निर्मलाका १८ र १६ वर्षमा दुई छोरा थिए। दुवै छोरा पनि एक साताको अन्तरालमा मारिए।

उनीमाथि स्थानीय बादशाह कुर्मीलगायत आठ जनाले सम्पत्तिका लागि कुटपिट गर्ने, यातना दिनेदेखि विभिन्‍न अमानवीय क्रियाकलाप गरेका थिए। त्यसविरुद्ध सम्बन्धित निकायलाई झकझक्याएर न्याय दिलाइएको थियो। तर, उनका व्यक्तिगत र एकल महिलाका कागजपत्र, नागरिकता, जग्गाको लालपूर्जालगायत सबै खोसियो। न्यायका खातिर निरन्तर लागिपर्दा पनि उनको सुरक्षा हुन नसकेकामा स्थानीयवासी दुःखी छन्।

खुट्टाको ठेलाभन्दा महिलामाथिको अन्यायले पोल्छ : रुबी खान

निरन्तर बढ्दो हिंसाविरुद्ध महिलाको समूह बनाई २० दिनसम्म पैदल यात्राकी अभियन्ता रुबी खानका खुट्टामा ठेलैठेला छन्। उनलाई खुट्टाको दुखाइको कुनै परवाह छैन। निरन्तर महिलामाथि भइरहेको हिंसा सहन नसक्ने उनले बताइन्। ‘महिलालाई दोस्रो दर्जाका नागरिकको रूपमा लिने राज्यले उनीहरूमाथि भइरहेको क्रुर हिंसात्मक घटनालाई कसरी अन्देखा गर्न सक्छ ?’ उनी प्रश्‍न गर्छिन्।

महिलामाथि हुने हिंसात्मक गतिविधिविरुद्ध मुद्दा दायर गर्दा प्रहरी प्रशासनसमेत मिलेर मुद्दा फितलो बनाउने कार्य हुने गरेको उनको आरोप छ। अभियुक्तलाई बचाउन नक्कली कागजपत्रसमेत प्रशासनबाट बन्‍ने गरेको उनी बताउँछिन्। अपराधीहरू भने खुल्लमखुला हिँडिरहेको उनको भनाइ छ। ‘अब अति भयो, सहनशक्तिको बाँध टुटिसक्यो, अब सहेर बसिँदैन भनेर अभियान सुरु गरेका हौँ,’ उनले भनिन्।

महिलामाथि हिंसाविरुद्ध न्याय माग्दै सम्बन्धित निकाय र सरोकारवालाको ढोका ढकढक्याउँदा पनि न्यायको पक्षमा कसैले चासो नदिएको उनले बताइन्। ‘अन्यायमा परेका नागरिकका लागि सरकार छ कि छैन, छैन भने किन छैन, न्याय पाउन के गर्नुपर्छ ?’ उनले प्रश्‍न गरिन्, ‘न्यायको पक्षमा उभिन विभिन्‍न तरिका भए पनि २० दिने पैदल यात्रा गर्नुको पछाडि यत्रो दिनको हिँडाइ महिलामाथि हिंसाविरुद्धमा हो भन्‍ने देशभरका हरेक नागरिकले थाहा पाऊन् भन्‍ने हो।’

उनले थपिन्, ‘महिला हिंसाविरुद्ध हरेक घर, टोल, गाउँबाट आवाज उठोस् भन्‍नका लागि अभियान सुरु गरेको उनले बताइन्। निर्मला कुर्मी, नन्कुन्‍नी धोबीलगायत हिंसापीडित सबै महिलाले न्याय पाउन भन्‍नका लागि हो।’

महिलामाथि हुने सामाजिक विभेद र असमानताविरुद्ध बोल्ने महिलाहरूको समूह मिलेर न्यायका ‘नेपालगञ्‍ज-काठमाडौं पैदल मार्च’मा निस्किएको उनले बताइन्। ‘आफ्नै आँखा अगाडि यस्ता घटना भएको देख्दा अन्तरआत्मादेखि नै न्यायको यो लडाइँ आवश्यक छ भन्‍ने निक्र्यौलमा पुगेर यसरी अगाडी बढ्ने योजना बनायौँ,’ उनले भनिन्।

यो मार्चमा सञ्‍चार माध्यमहरू र केही सीमित संस्थाले सकारात्मक प्रतिक्रिया दिए पनि सम्बन्धित निकायले कुनै चासो नदिएको उनले बताइन्। उनीसँग आएका सबै महिला मजदुरी र खेती किसानी गर्छन्। ‘खुट्टामा उठेका ठेला र घाउभन्दा बिनाकसुर मारिएका महिलाहरूको पीडाले पोल्छ, सरोकारवाला निकायले यो पीडा सम्बोधन गर्नुपर्छ,’ उनले भनिन्। देख्नेका लागि २० दिने यात्रा भए पनि यो यात्रामा हिँडेका आफूहरूका लागि प्रत्येक पल तनाव र डर रहेको उनले बताइन्।

तर, माइतीघर मण्डलामा धर्नामा बसेको यो टोलीलाई २२ असोजमा प्रहरीले उल्टै पक्राउ गर्‍यो। त्यो पनि साँझको खाना खाँदै गर्दा।

प्रकाशित मिति: १३:३३ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्