Kathmandu Press

नेपाली लप्सी, स्वदेशी पाउँ

भक्तपुर चाँगुनारायणस्थित चम्पक पाउँ उद्योग स्थापना भएको दुई दशक नाघ्यो। यो उद्योगबाट उत्पादित पाउँ विस्तारै स्वदेशीसहित विदेशी बजारमा पनि कोसेलीका रूपमा पुग्न थालेको छ।
नेपाली लप्सी, स्वदेशी पाउँ
Hardik ivfHardik ivf

काठमाडौं, असोज ४ : पाउँ अर्थात् अमिलो–पिरो । नाम सुन्नासाथ धेरैको मुखमा पानी रसाउँछ । प्रायः लप्सी र अमिलो फलबाट बन्ने पाउँ उपहारका रूपमा देश–विदेश पनि पुग्छ । गत शुक्रबार चाँगुनारायण पौवास्थित ‘चम्पक पाउँ उद्योग’ पुग्दा अफ सिजनमा पनि पाउँ बनाउन भ्याइनभ्याइ थियो ।

बिहान करिब १० बजे उद्योगका तीन कर्मचारी सुकेको पाउँको माडा टुक्र्याउँदै थिए । ०२९ सालमा काभ्रेको नालामा जन्मिएकी देवका श्रेष्ठले ०५८ सालमा घरेलु तथा साना उद्योगको रूपमा यो पाउँ भण्डार सञ्चालनमा ल्याएकी हुन् । उनका अनुसार अहिले मासिक करिब ६ लाख रुपैयाँको कारोबार हुन्छ ।

खासगरी, मंसिरदेखि पाउँ उत्पादनको सिजन सुरु हुन्छ । सिजनमा ११ जनासम्म कामदार आवश्यक पर्छ । मंसिर आउन अझै करिब दुई महिना बाँकी भएकाले अफ सिजनको उत्पादन चलिरहेको छ अहिले ।

नेपालकै लप्सी, स्वदेशी पाउँ

देवकालाई सानैदेखि कृषिमा लगाव थियो। खेतबारीमा जाँदा उनी रुखबाट लप्सी टिप्दै खान रमाउँथिन् । उमेर बढ्दै जाँदा उनको मनमा लप्सीबाट के बनाउन सकिएला भन्ने प्रश्नले डेरा जमायो । पछि लप्सीबाट पाउँ बनाउने तालिम लिएर उद्योग खोलिन् ।

‘लप्सी नेपालमा मात्र पाइन्छ भन्ने कुरा मलाई पहिला नै थाहा थियो। हाम्रो घरतिर लप्सी फालाफाल थियो तर त्यसको सदुपयोग गरिएको देख्दिनथेँ । खाँदा पनि यसबाट अरू के बन्न सकिन्छ भन्ने प्रश्न जहिल्यै उठ्थ्यो,’ उनी भन्छिन् ।

लप्सीबाट पाउँ बन्छ भनेर थाहा थियो, तर कस्तो बनाउने भन्नेमा उनी जानकार थिइनन्। सुरुमा उनले लप्सीको माडा बनाइन्। तर, त्यसबाट सबैथरिको पाउँ बनाउन नसकिने थाहा पाइन् र तालिम लिइन् । ‘मेरो लक्ष्य भनेकै लप्सीबाट बनेका वस्तुलाई देश–विदेशमा चिनाउने हो । त्यसैले तालिम नै लिएर उद्योग सञ्चालन गर्ने सोच बनाएँ,’ उनी भन्छिन्, ‘सोही कारण पाउँको स्वच्छतामा बढी ध्यान दिन्छु।’ उनले विवाहपछि ०५८ सालमा आईसीए नेपाल नामक संस्थाबाट तालिम लिएर उद्योग खोलेकी हुन् ।

सुरुमा उनले लप्सीबाट पाउँ बनाउन जानिन् । तर, त्यही असफलताले उनलाई जसरी पनि पाउँ बनाएरै छाड्ने हुटहुटी जाग्यो । उनीसँगै तालिम लिएका कतिपयले यता हात नै हालेनन् । तर, उनी आफ्नो इच्छा पूरा गरेरै छाड्नेमा अडिग रहिन् । ‘यसैलाई उद्योग बनाउने मेरो लक्ष्य थियो । विस्तारै काम बिगार्दै, बनाउँदै, सिक्दै, सिकाउँदै २० वर्ष बितेको पत्तै पाइनँ,’ उनी भन्छिन् ।

स्थानीय स्रोत उपयोग गर्दै महिलाहरूलाई रोजगारी दिने सोचका कारण उद्योग सञ्चालन गर्ने प्रेरणा जागेको उनी बताउँछिन्। ‘०५२ सालमा विवाह भएर नालाबाट पौवा आएकी थिएँ। त्यसबेला महिलाहरूसँग पैसा हुँदैनथ्यो,’ उनी भन्छिन्, ‘तर, चौबीसै घण्टा खटिनुपर्ने बाध्यता थियो। यो देख्दा महिलाले पनि केही गर्नुपर्छ र गर्न सक्छन् पनि भन्ने सोचले उद्योग सञ्चालनमा ल्याउन सफल भएँ ।’

उनको उद्योगमा १० वर्षदेखि कार्यरत छिन्, जुलमाया तामाङ । आफ्नो समय उद्योगमा सदुपयोग गर्न पाउँदा दंग छिन् उनी । उनका अनुसार विगतमा चाँगुनारायणमा लप्सी धेरै फल्थ्यो तर यो प्रयोगमा नआई खेर जान्थ्यो । चम्पक पाउँ उद्योग सञ्चालनमा आएयता भने स्थानीय लप्सीको सदुपयोग भएको उनी बताउँछिन् ।

‘विगतमा मानिसले खानेभन्दा पनि भुईंमा खसेरै नास हुन्थ्यो। उपयोगिता थाहा नभएर कतिले त रुख नै काटे,’ तामाङ भन्छिन्, ‘कहिलेकाहीँ अचार बनाउँथ्यौँ । अहिले त १–२ दाना खोज्न जाँदा पनि प्रायः बेचिसकेका हुन्छन् ।’

जुलमायासँगै सम्पा तामाङ र मन्दिरा तामाङ उक्त उद्योगमा बिहान १० देखि साँझ ५ बजेसम्म काम गर्छन्। मुख्य सिजनमा भने कर्मचारी पनि थपिन्छन् र कामको चाप अत्यधिक रहन्छ ।

सुरुमा परिवारकै साथ पाउन गाह्रो

उद्योग सञ्चालक देवका चार दाजुभाइ र चार दिदीबहिनीको संयुक्त परिवारमा हुर्केकी हुन् । विवाहपछि पनि दुई छोरी र चार छोराको संयुक्त परिवारमा आइन्। संयुक्त परिवारमा यसै पनि सबैलाई मनाउन सहज छैन । देवकाको हकमा पनि त्यस्तै भयो ।

विवाहअघि उनले सिलाइ–बुनाइ तालिम लिएकी थिइन् । विवाहपछि त्यसलाई पेशा बनाउन खोजिन् तर त्यसबाट सन्तुष्टि प्राप्त गर्न सकिनन्। उद्योग सुरु गर्नुअघि आफ्नै परिवारलाई सम्झाउन देवकालाई हम्मेहम्मे प¥यो । ‘सुरुमा यो उद्योग खोलेर के गर्छौ, किन खोल्नुपर्ने सिलाइ–बुनाइ नै ठीक छ, के गरेकोलगायत धेरै प्रश्न आएका थिए । श्रीमान् राजनीतिमा लागेको भएर पनि आर्थिक हिसाबले धेरै दबाब परेको थियो,’ उनी भन्छिन्, ‘विस्तारै उद्योगको बजार राम्रो हुँदै गएपछि परिवारबाट पनि सहयोग प्राप्त हुन थाल्यो । उद्योगको काममा पनि सबैले सहयोग गर्नुहुन्छ।’

सुरुमा बजार र दक्ष जनशक्ति अभाव मात्र होइन, आर्थिक समस्या पनि चर्को थियो । दक्ष जनशक्ति उत्पादनका लागि तालिम कार्यक्रम ल्याउन पहल गर्ने र सिलाइबाट आएको पैसा उद्योगमा खर्च गर्नेसमेत गरेको उनी सगर्व बताउँछिन् ।

यस्तै ठाउँको समस्या समाधान गर्नका लागि भने आफ्नै घरमा धान राखेको कोठामा डोरी राखेर कउसीमा पाउँ बनाउने र उक्त डोरीमा सुकाउने गरेको देवकाको अनुभव छ। ‘घरको पछाडी टहरा थियो। त्यहाँबाट पनि आँट आयो। विस्तारै आवश्यक सामाग्री किन्दै, पाउँ बनाउँदै, बेच्दै ग¥यौँ,’ उनले भनिन्।

देश–विदेशमा बढ्दै माग

सुरुमा उनको उद्योगमा उत्पादित पाउँको बजार पहिचान गर्न नसक्दा फाल्नुपरेको अनुभव पनि छ, उनीसँग । तर, बजार पहिचान गर्ने फरक तरिका अपनाइन्, देवकाले । विभिन्न मेला, प्रदर्शनीहरूमा सहभागी हुँदै प्रचार गर्दै गइन् । कतिपय यस्ता प्रदर्शनी पनि थिए, जहाँ उनले एक प्याकेट पनि पाउँ बिक्री गर्न सकिनन् ।

त्यसका बावजुद उनी मेला, प्रदर्शनीमा सहभागी हुन छाडिनन्, आफ्नो उत्पादनलाई उपभोक्तामाझ चिनाउनु जो थियो । त्यो एक दिन आयो– उनको मिहिनेतको फल प्राप्त हुन थाल्यो । विस्तारै उनलाई अर्डर आउन थाल्यो । त्यसरी अर्डर गर्ने कतिपय ग्राहक मेला, प्रदर्शनीमा भेटिएकाहरू नै थिए । पछिल्ला वर्षमा देशभर ठूलो डिपार्टमेन्टल स्टोर खोल्ने लहर नै चलेको छ । देवकालाई अर्डर पनि डिपार्टमेन्टल स्टोरहरूबाटै बढी आउन थालेको छ ।

अहिले उनको मुख्य ध्येय पाउँको स्वच्छता छ । उत्पादन मात्र होइन, प्याकेजिङमा पनि स्वच्छतामा जोड दिएकी छन् । त्यसैले धेरै नाफा कमाउने उनको उद्देश्य छैन । ‘अहिले पनि यसमा धेरै नाफा छैन। तर, हामीले स्वच्छतामा ध्यान दिएका छौँ, प्याकेजिङको हिसाबले पनि अहिले धेरै राम्रो भएको छ, यसैमा खुशी छु,’ उनी भन्छिन्, ‘हिजो मात्र पनि अमेरिकाबाट पाउँको अर्डर आएको छ।’

भक्तपुर, नुवाकोट र सिन्धुपाल्चोको लप्सी

उद्योग सञ्चालन गर्नुअघि स्थानीयस्तरमै कच्चापदार्थ (लप्सी) पर्याप्त पाइने आकलन थियो । तर, अहिले उत्पादन बढ्दै जाँदा भक्तपुरका चाँगुनारायण नगरपालिका, छालिङ मात्र होइन, नुवाकोट र सिन्धुपाल्चोकबाट पनि लप्सी ल्याउन थालेकी छन् । पाउँ बनाउन प्रयोग हुने अमला सिन्धुपाल्चोकबाट ल्याउँछिन् ।

त्यसबाहेक वीरे नुन, सेतो नुन, जिराको धुलो, खुर्सानी र हिङ भक्तपुर र असनबाट ल्याउँछिन् । प्याक गरिएको पाउँलाई दुई वर्षसम्म बिग्रिन नदिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृतिप्राप्त ‘पोटासियम मेटा बाइसल्फेट’ (केएमएस) नामक रसायन 
प्रयोग गरिने उनी बताउँछिन्।

लक्ष्य विदेशी बजार

माडाबाट सुरु भएको यो उद्योगमा अहिले १२ थरिका पाउँ बन्छन्। लप्सी क्यान्डी, छोयला पाउँ, सुकुटी पाउँ, अमला पाउँ, चिनी क्यान्डी, मिक्स पाउँ, भोल पाउँ, चक्र क्यान्डीलगायतलाई उपभोक्ताले रुचाएका छन् । तीमध्ये सुकुटी पाउँलाई उनी मौलिक बताउँछिन् । भन्छिन्, ‘बजारमा पनि सबैभन्दा बढी यसैको माग छ ।’ उनका अनुसार अन्य उद्योगले सुकुटी पाउँ बनाउँदैनन् ।

‘खासमा चक्र पाउँ बनाउन खोजेका थियौँ, बनेन । तर, काट्दा छुट्टै आकारको भयो र सबैले मन पनि पराउनुभयो,’ उनी भन्छिन्, ‘अहिले सबैभन्दा बढी माग यसैको छ। यसैलाई अब ब्रान्ड बनाउने सोचमा छु।’

देवकाका अनुसार अन्य रोजगारीको तुलानामा क्षमता भए उद्योग नै सञ्चालन गर्दा हरेक हिसाबमा राम्रो हुन्छ। अहिले सानो उद्योगलाई ठूलो बनाउने र देश–विदेशमा आफ्नो उत्पादनलाई चिनाउने उनको मुख्य लक्ष्य हो। ‘यो उद्योगलाई पछि मेरो छोराछोरीले धानून् भन्ने इच्छा छ। छोरा त अस्ट्रेलियामा छ। छोरी अहिले खाद्य प्रविधि विषय लिएर पढ्दैछिन्,’ उनी भन्छिन्, ‘विदेशीहरूले हामीलाई उनीहरूको चकलेट चखाएको जस्तै नेपाली चकलेट उत्पादन गर्न पनि प्रयास गर्दैछु।’

उनले अहिले कोसेली प्याकिङ पनि सुरु गरेकी छन् । त्यस्तो प्याकिङमा उनको उद्योगमा उत्पादित सबै पाउँ राख्ने गरेकी छन् ।

यस्तो पाउँ बनाउने प्रक्रिया

पाउँ बनाउन सर्वप्रथम लप्सी संकलन गरिन्छ । संकलित लप्सीलाई राम्ररी पानीले पखालेर पाकेको र नपाकेको गरी दुई भाग लगाइन्छ । पाकेको लप्सीलाई पानीमा उमालेर बोक्रा, सेतो भाग (गुदी) र गेडा छुट्याइन्छ।

बोक्रालाई मिक्स्चरमा राखेर मसिनो बनाइन्छ र सेतो भागलाई सफा ड्रममा भण्डार गरिन्छ। मिक्स्चरमा मिक्स गरेको बोक्रालाई ठूलो फल्याकमा पातलो गरी लेप लगाई करिब चार दिन सुकाइन्छ। सुकिसकेपछि त्यसलाई स–साना टुक्रा बनाई पुनः मिक्स्चरमा धुलो बनाइन्छ। लप्सीको बोक्राबाट बनेको धुलो अमिलो चुकको रूपमा चटपटे, झोल पाउँ र मःमःको झोललगायतमा प्रयोग गरिन्छ।

लप्सीको सेतो भागलाई आवश्यक मात्रामा भण्डारबाट निकालेपछि कुन पाउँ बनाउने हो, सोहीअनुरूप चिनी, खुर्सानी, हिङलगायत कच्चापदार्थ राखेर घोलिन्छ । र, फल्याकमा राखेर लेप लगाइन्छ। कुनै पाउँलाई डल्लो बनाएर फल्याकमा राखिन्छ। करिब चार दिनसम्म घाममा सुकाएपछि लेपलाई आकार दिइन्छ र अन्त्यमा प्लास्टिकमा प्याक गरी बजार पठाइन्छ ।
 

प्रकाशित मिति: ११:०८ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्