Kathmandu Press

यात्रुको दुर्व्यवहार खेप्दै अशक्तको ‘सेयर राइडिङ’ जीवन यात्रा

केही वर्षयता पठाओ, टुटललगायत सेयर राइडिङ कम्पनीले अपांगता भएका युवा-युवतीलाई पनि रोजगारी दिएका छन्। र, उनीहरूको आत्मविश्‍वास बढाइदिएका छन्।
यात्रुको दुर्व्यवहार खेप्दै अशक्तको ‘सेयर राइडिङ’ जीवन यात्रा

काठमाडौं, असोज १ : जन्मजात अपांग शोभा श्रेष्‍ठलाई आफ्नो जिन्दगी बोझ लाग्थ्यो। उनका गोडा राम्रोसँग चल्दैनथे। उनी सोच्थिन्- ‘अरूको सहारामा कतिदिन बाँच्नु ?’ पटक-पटक मर्न मन लाग्थ्यो। तर, अध्ययनलाई निरन्तरता दिन सकेमा थोरै भए पनि आत्मनिर्भर बन्‍न सकिने विश्‍वासले उनलाई मृत्यु होइन, जीवनका लागि प्रेरित गरिरह्यो। अहिले काठमाडौं प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट स्‍नातकोत्तर सकेर थेसिसको तयारी गरिरहेकी छन्।

‘समाज परिवर्तन भइरहेको छ भनिए पनि अपांगता भएको व्यक्तिलाई हेर्ने दृष्‍टिकोण भने अझै अशक्त नै छ,’ उनी भन्छिन्।

अध्ययनको सिलसिलामा पनि साथीभाइ अपांग भन्‍नेबित्तिकै नजिक आउन मन पराउँदैनथे। बाहिरी व्यवहारमा मनपराएजस्तो गरे पनि सकारात्मक सोच पाउँदैनथिन्। ‘अपांगता भएको व्यक्तिलाई पाइला-पाइलामा दुर्व्यवहार भोग्‍नुपर्छ,’ उनी भन्छिन्, ‘अपांग भएकै कारण मानिस मिल्न र नजिकिन डराउँछन्।’

Hardik ivf

चार वर्षदेखि पठाओ कम्पनीकी सेयर राइडर बनेकी छन् उनी। चारपांग्रे स्कुटरमा उनले आत्मनिर्भरताको यात्रा हाँकिरहेकी छन्।

तर, अत्याधुनिक प्रविधिसहितको सेयर राइडिङमा पनि परम्परागत शैलीको अपमान र दुर्व्यवहार सहनुपरिरहेको छ। ‘एक साताअघि एपमा रिक्वेस्ट आएपछि चक्रपथबाट भित्री मार्गमा यात्रु लिन गएँ,’ उनी भन्छिन्, ‘चारपांग्रे स्कुटर देख्‍नासाथ यात्रु घरभित्र लुके र ५-७ वर्षकी बालिकालाई पठाएर यस्तो स्कुटरमा नजाने भन्‍न लगाए।’ त्यस्तो बेला आफू अपांग भएर जन्मिनु मात्र नभई जिउने साहस गर्नु पनि गलत हो कि भन्‍ने लाग्छ उनलाई।

सेयर राइडर शोभा श्रेष्‍ठ

तनहुँ भानु नगरपालिका-८ पुर्कोट आहालेकी उनी पढाइको सिलसिलामा काठमाडौं आएकी हुन्। अहिले काठमाडौं टोखा नगरपालिका-६ मा बस्छिन्। र, सेयर राइडिङमा आबद्ध भएर दिनचर्या अगाडि बढाएकी छन्।

उनी नौ महिनाकी थिइन्, उनलाई सीधा उभिनसमेत गाह्रो भएको देखेपछि मात्र बाबु-आमाले खुट्टामा समस्या भएको थाहा पाए। उनका बाबु भारत दिल्लीमा काम गर्थे। र, उनको बाल्यकालको छोटो समय पनि त्यहीँ बित्यो। दिल्लीमा चिकित्सकलाई देखाउँदा पोलियो भएको बताए। विस्तारै दुवै खुट्टा सुक्दै गए। र, सामान्यभन्दा छोटा पनि भए। घरबाट स्कुल निकै टाढा थियो, हिँडडुल गर्नै नसक्ने भएकाले आफन्तकोमा बसेर पढिन्। तीनवटा वैशाखी थोत्रा भए। पछि त उठ्न-बस्‍नै गाह्रो भयो।

उनी उमेरसँगै बढ्दै गइन्, खुट्टा भने बढ्दै बढेनन्। एक दिन कृष्‍ण प्रणामी धर्मावलम्बीहरूले पोलियो लागेका व्यक्ति पनि शल्यक्रियापछि निको हुने सूचना स्कुलमा पठाए। उनी कक्षा-१० मा थिइन्। उनी तुरुन्त तयार भइन्। उनलाई जसरी पनि वैशाखी छोड्न मन थियो। वैशाखी टेकेर हिँड्दा कति लुगा च्यातिए, काखीमा असह्य पीडा दिने घाउ भए। उनी दुई साथीसहित काठमाडौं उपचारका लागि आइन्। अरू साथीको उपचार सम्भव देखिएन। शोभाको भने उपचार हुने भयो। उपचारपछि उनलाई पुनर्जन्म पाएको महसुस भयो। भन्छिन्, ‘मैले नयाँ जिन्दगी पाएँ।’

उनका दिदी-भिनाजु काठमाडौंमै बस्थे। उनीहरूसँगै बसेर पद्‍मकन्या स्कुलबाट प्लस टु र स्‍नातक तह उत्तीर्ण गरिन्। त्यसपछि आरआर क्याम्पसमा स्‍नातकोत्तर गर्दैछिन्। स्‍नातकोत्तर गर्दै गर्दा पठाओमा सेयर राइडर बनिन्।

यात्रुको अमानवीय व्यवहार

गत शुक्रबार एक यात्रुले एपमार्फत रिक्वेस्ट पठाए। उनी यात्रु लिन सामाखुसी पुगिन्। यात्रुको घर अगाडि पुगेर फोन गरिन्, उनले त चारपांग्रे स्कुटरमा नजाने भन्दै फर्काइदिए। ‘चारपांग्रे स्कुटर देख्‍नासाथ मानव नै होइनजस्तो व्यवहार गर्छन्,’ उनी भन्छिन्, ‘अशक्त चालक देख्‍नासाथ यात्रु चढ्न मान्दैनन्।’

उनको बुझाइमा चारपांग्रे स्कुटर यात्रुका लागि अझ सुरक्षित हुन्छ। अन्य सवारी साधनले पछाडि र दायाँ-बायाँबाट ठक्कर दिए भने मात्र डर हुने उनी बताउँछिन्। ‘शारीरिक रूपमा अपांग भए पनि सवारी साधन चलाउन सक्ने भएका कारण पठाओमा आबद्ध भएका हौँ,’ उनी भन्छिन्, ‘यही कुरा यात्रुले बुझ्दैनन्।’

यस्ता घटना उनले पटक-पटक भोगेकी छन्। गत सोमबार पनि यात्रु लिन लोकेसनमा पुगिन्। यात्रुलाई फोन गरिन्, यात्रु महिला नै थिइन्, जसले फोन उठाएर शोभालाई देखेको बताइन् र उनीसँग नजाने भन्दै फोन काटिदिइन्।

शारीरिक रूपमा अशक्त भएपछि रोजगारी पाउन मुस्किल भएको बुझेकी छन् उनले।  सवारी चालकको लाइसेन्स भएकाले पठाओले रोजगारी दिएको उनी बताउँछिन्। ‘सक्षम भएकैले राइडर बन्‍न अनुमति पाएकी हुँ तर यात्रुले विश्‍वास गदैनन्,’  उनी भन्छिन्, ‘यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने हाम्रो जिम्मेवारी हो।’

अपांग राइडरलाई पनि अवसर दिएकामा उनी पठाओप्रति आभारी छिन्। तर, यात्रुमा उनीहरू सक्षम रहेको बुझाउन समय लाग्‍ने उनी ठान्छिन्। ‘शारीरिक रूपमा अपांग भएका व्यक्ति केही गर्न सक्दैनन् भन्‍ने भ्रम छ। अवसर नै नदिई कमजोर छन् भनेर अरोप लगाउने गरिन्छ,’ शोभा भन्छिन्।

केही यात्रुले भने सकारात्मक प्रतिक्रिया दिँदा उनमा हौसला बढ्छ। सकारात्मक सोच भएका यात्रुले अपांग भएर पनि आत्मनिर्भर हुन काम गरिरहेकोमा प्रशंसा गर्छन्। ‘पेट्रोल खर्च कटाएर मासिक १०-१५ हजार रुपैयाँ आर्जन हुन्छ,’ उनी भन्छिन्।

पछिल्ला दिनमा भने अपांगता भएको व्यक्ति पनि आत्मनिर्भर हुन थालेपछि परिवार र समाजको नजिरिया बदलिँदै गएको महसुस शोभाले गरेकी छन्।

बहाना बनाउँछन् यात्री

ललितपुर इमाडोलमा अस्थायी बसोवास गर्ने सेयर राइडर बेगबहादुर तामाङ पनि शारीरिक रूपमा अपांगता भएका कारण यात्रुबाट अमानवीय व्यवहार झेल्नुपरेको बताउँछन्। उनका गोडाका नसा खुम्चिएका कारण राम्रोसँग चल्दैनन्। ‘अपांगता भएको व्यक्ति मानव नै होइनजस्तो व्यवहार गर्छन् कसैले,’ उनी भन्छन्, ‘यात्रु लिन लोकेसनमा पुगेपछि चारपांग्रे स्कुटरमा नचढ्ने भन्दै फिर्ता गरिदिन्छन्।’

यात्रुलाई गतव्यभन्दा सवारी साधन र चालकको शारीरिक अवस्थामा बढी चासो दिने गरेको तामाङ बताउँछन्। ‘अपांगले केही काम गर्न सक्दैनन् भन्‍ने भ्रम अब तोड्नुपर्छ,’ उनी भन्छिन्, ‘रोजगारी पाउन मुस्किल छ, पाएको रोजगारीमा पनि अमानवीय व्यवहार भोग्‍नुपर्छ।’

धादिङ स्थायी घर भएका उनी अढाइ वर्षदेखि सेयर राइडर छन्। दैनिक ६-७ घण्टा काम गरेर मोबाइल रिचार्जबापत डेढ सय रुपैयाँ कटाएर पेट्रोल खर्चबाहेक दैनिक ८-९ सय रुपैयाँ कमाउँछन्। भन्छन्, ‘अपांगता भएका व्यक्ति आर्थिक रूपमा अरूमा निर्भर नहुनु ठूलो कुरा हो।’

सेयर राइडर बेगबहादुर तामाङ

एक साताअघि उनी महिला यात्रुलाई लिन नख्खु पुगे। त्यहाँ पुग्‍नासाथ महिलाले कुरा फेरिन्। ‘यात्रुले मलाई लिन श्रीमान् आउनुहुन्छ, तपाईंलाई फिर्ता गरेँ भन्दै चारपांग्रे स्कुटरमा चढ्न मानिनन्,’ उनी भन्छन्, ‘त्यहाँ पुगेर कहाँ हुनुुहुन्छ भन्दासम्म लोकेसन दिइरहेकी थिइन्, देख्‍नासाथ उनले हडबडीमा बहाना बनाइन्।’

उनी जन्मजात अपांग होइनन्। जन्मेको नौ महिनापछि उनका गोडा चल्न छाडे। उनलाई सरकारले ‘ख’ वर्गको अपांगता कार्ड दिएको छ र सोहीअनुसार सेवा सुविधा पाइरहेका छन्।

उनी पाटन क्याम्पसमा स्‍नातक दोस्रो वर्षमा अध्ययनरत छन्। गत वैशाखमा २४ वर्षीया सीमा तामाङसँग विवाह गरे। उनकी श्रीमती पनि पाटन क्याम्पसमा स्‍नातक अध्ययनरत छिन्। ‘श्रीमती सीमा भने अपांग होइनन्,’ उनी भन्छन्।

सेयर राइडर रघु बस्‍नेत (३० वर्ष)का श्रीमान्-श्रीमती दुवैमा अपांगता छ। र, दुवै सेयर राइडर हुन्। श्रीमती संगीता बिहान १० देखि ५-६ बजेसम्म सेयर राइडिङ गर्छिन्। रघु भने राति ढिलासम्म यात्रुलाई गन्तव्यमा पुर्‍याउँछन्।

उनलाई पनि पटक-पटक यात्रुले फर्काइदिएका घटना छन्। ‘हामी बालाजु पैयुँटारस्थित अपांगता भएका व्यक्तिहरू बस्‍ने ‘सम्भव जीवन केन्द्र’मा बस्छौँ,’ उनी भन्छन्, ‘स्थायी घर भक्तपुर सूर्यविनायक-८ मा छ तर घरमा भन्दा धेरै यहीँ बस्छौँ।’

सेयर राइडर रघु बस्‍नेत

उनले सेयर राइडिङ गर्न थालेको डेढ वर्ष बित्यो। ‘कतिपय यात्रुले हौसला दिन्छन्, कतिपयले मान्छे नै होइनजस्तो सम्झिन्छन्,’ उनी भन्छन्, ‘काम गरेपछि राम्रो-नराम्रो दुवै भोग्‍न र सुन्‍न सक्ने बन्‍नुपर्छ।’

उनी दैनिक एक हजार आठ सयदेखि दुई हजार रुपैयाँसम्म कमाउँछन्। पेट्रोल खर्च कटाएर एक हजार रुपैयाँ नाफा बस्‍ने उनी बताउँछन्। ‘अपांग भएर अरूमा निर्भर हुनुभन्दा आत्मनिर्भर बन्‍नुमा गर्व लाग्छ,’ उनी भन्छन्, ‘कहिलेकाही यात्रुले अपांग भएकै कारण फिर्ता पठाइदिँदा भने नरमाइलो महसुस हुन्छ।’

केही वर्षयता पठाओ, टुटललगायत सेयर राइडिङ कम्पनीले अपांगता भएका युवा-युवतीलाई पनि रोजगारी दिएका छन्। र, उनीहरूको आत्मविश्‍वास बढाइदिएका छन्। पठाओमा अपांगता भएका करिब २० जना सेयर राइडर रहेको रघुको भनाइ छ।

प्रकाशित मिति: १३:५४ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्